तराइ खबर समाचारदाता– धनुषा,
धनुषा प्रहरीले भरूवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ । भरुवा बन्दुक लिएर मोटरसाइकलमा हिँडिरहेका मिथिला नगरपालिका–४ पुष्पलपुर बस्ने २६ वर्षीय सरोज कुमार महतो र ४४ वर्षीय राजकुमार लामालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट एक थान भरूवा बन्दुक र ज. १२ प १११५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष सुराकीको आधारमा उनीहरुलाई चेकजाँच गर्ने क्रममा लोड भएको अवस्थामा भरुवा बन्दुकसहित दुवैजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरू उपर हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा चलाउन आवश्यक तयारी भइरहको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।