तराइ खबर समाचारदाता-,
सर्लाीही जिल्लाको ईश्वरपुर नगरपालिकामा राहतको विषयमा दुई पक्षबीच झडप भएको छ। मंगलबार दिउँसो झडपले ठूलो रूप लिन थालेपछि प्रहरीले दुई सेल अश्रुग्याँस नै प्रहार गर्नु पर्यो।
ईश्वरपुर नगरपालिका–१५, गौरिशंकरमा राहत बाड्ने विषयमा वडाध्यक्ष सहित जनप्रतिनिधिको समूह तथा स्थानीय युवाहरूको समूह बीच झडप भएको हो। झडप हुदाँ दुईजना प्रहरी र एक जना स्थानीय सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दिउँसो १२ बजेतिर वडा कार्यालयमा पुगेको १ सय ५० जना हाराहारीको समूहले ढुंगामुढा प्रहार गरेपछि अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए।
‘राहतको विषयमा वडाध्यक्ष लगायतसंग विवाद गरिरहेका गाउँलेलाई सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि नै ढुंगामुढा प्रहार भयो’, प्र.ना.उ. कुँवरले भने, ‘ढुंगाले लागेर दुईजना सुरक्षाकर्मी नै घाईते भएपछि बाध्य भएर बल प्रयोग गर्नु परो।’ प्रनाउ कुवँरका अनुसार ढुंगाले लागेर प्रहरी सहायक निरीक्षक विरेन्द्र यादव तथा प्रहरी जवान भागेश्वर यादव सामान्य घाईते भएका छन्।
घटना लगतै सुरक्षा व्यवस्था कडा पारिएकाले दिउँसोबाट स्थिति शान्तिपूर्ण रहेको प्रनाउ कुवँरले जानकारी दिए।वडा नम्बर १५ का वडाध्यक्ष कपिलदेव चौधरी धाँमीले राहतको विषयमा छलफल गरिरहेको अवस्थामा आफूहरुमाथि एक समूहले कार्यालयमै आएर हातपात गरेको बताए। ‘मेरो नाम किन नराखेको भन्दै कार्यालयमा आएर निर्णय पुस्तिका खोसेर च्यातिएको छ’, वडाध्यक्ष धाँमीले भने, ‘म सहित जनप्रतिनिधि माथि हातपात गरिएको छ, मेरो औंलामा चोट पुगेको छ ।नाम छुटेको भए सर्वदलिय बैठक बसेर सच्याउँछौं भन्दाभन्दै उल्टै हातपातमा उत्रिएको समूहलाई सुरक्षाकर्मीहरुले सम्झाउँदा समेत नमानेको वडाध्यक्ष चौधरीको दाबी छ। वडाध्यक्ष धाँमीका अनुसार वडा नं. १५ मा राहत वितरणका लागि ५ सय ३४ घरधुरीको नामावली संकलन भएको छ।नगरपालिकाले पठाएको नियम अनुसार राहतमा एक जना सदस्य भएको परिवारलाई ५ किलो चामल, २-१० जनासम्म सदस्य भएको परिवारलाई १० चामल र १० जना भन्दा बढी सदस्य भएको परिवारलाई १५ किलो चामल, दाल १ किलो, नुन १ किलो, खाने तेल अाधा लिटर वितरण गर्ने योजना रहेको वडाध्यक्ष कपिलदेव चौधरी धाँमीले बताए ।