शनिबार ६ वैशाख २०७७
अमेरिका: कोरोना भाइरससंक्रमणका कारण महिनौंदेखि अमेरिकामै रोकिएका नेपाली नागरिकहरूले मुलुक फर्किन पाउनु पर्ने भन्दै सरकारसँग आग्रह गरेका छन् । विभिन्न भिसामा अमेरिका आइ यहीँ थुनिएका नेपाली नागरिकहरूले नेपाल सरकारसँग आवश्यक पहल थाल्न
आग्रह गरेका हुन् । उनीहरूले आवश्यक सबै प्रक्रिया पुरा गर्न आफूहरू तयार रहेको भन्दै मुलुक फर्कन पाउनुपर्ने माग सरकारसमक्ष राखेका हुन्।
‘हामी स्वास्थ्य परीक्षणदेखि सबै प्रक्रिया पूरा गर्न तयार छौँ, नेपाल पुगेर सरकारले बनाएको क्वारेन्टाइनमा पनि बस्न तयार छौँ। तर, सरकारले हामीलाई मुलुक फर्काउने वातावरण बनाओस्,’ बतास अर्गनाइजेसनका कार्यकारी निर्देशक शान्तराज बसातले भने, ‘अन्य मुलुकले समस्यामा परेकालाई फर्काइसके, हाम्रो सरकार हामीले नै खर्च गर्ने भन्दा पनि वास्ता गर्दैन ।
‘भ्रमण भिसामा अमेरिका आएका अर्का एक नेपाली नागरिक सन्तोष सुवेदीले ल्याएको रकम सकिन लागेको र अमेरिकामा बस्न अन्योल भएको भन्दै नेपाल फर्काउन सरकारसँग आग्रह गरेका छन्। उनले आफू जस्तै अन्य मानिस पनि खर्च अभावमा समस्यामा परेको गुनासो गरे। बतास अर्गनाइजेसनले फर्किन चाहनेको सूची संकलन गरिरहेको छ।
बतासले वेबसाइटमार्फत सूचना संकलन गरेको जनाएको छ। फर्किन पाउनुपर्ने माग राख्नेहरूको संख्या अमेरिकामा करिब दुई सय हाराहारी भएको बताइएको छ। उनीहरूले आधिकारिक संख्या पाएपछि विवरण नेपाल सरकारलाई पठाउने र सरकारको तर्फबाट चार्टर गर्न सम्भव भए चार्टरमा नत्र कर्मसयल विमानमा भए पनि नेपाल फर्किन इच्छुक रहेको जानकारी दिएका छन् । उनीहरू मात्र होइन विभिन्न भिसामा अमेरिका बसेका तर ग्रिन कार्ड तथा स्थायी बसोबासको सुविधा नपाएकाहरूले पनि स्वदेश फर्कन पाउनुपर्ने भन्दै दुतावास र महावाणिज्य दूतावासमा जानकारी गराइरहेका छन्।
साभार: अन्नपूर्ण समाचार