सरकारले कोरोना भाइरसका कारण लागू भएको लकडाउनका बेलामा बिजुलीको महशुल तिर्न नसक्दा जरिवाना नलिने भएको छ । ऊर्जामन्त्रीले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागेको लकडाउनका बेला महशुल तिर्न नक्नेलाई जरिवाना नगर्ने बताएका हुन् ।
यसअघि विद्युत् प्राधिकरणले चैतको बिजुली बिल जारी गर्दै महसुल रकम वैशाख मसान्तभित्र तिरिसक्नुपर्ने अन्यथा जरिवाना लाग्ने जनाएको थियो । लकडाउनका कारण सर्वसाधारण घरबाहिर निस्किन बन्देज भइरहेका वेला प्राधिकरणका कर्मचारी फिल्डमा नगई ग्राहकले फागुनमा उपभोग गरेको बिजुलीकै आधारमा चैत महिनाको पनि बिलिङ गरेर महशुल तिर्न भनेको हो ।
मन्त्रीले सामाजिक संजाल ट्वीटरमार्फत जेठ ७ गतेसम्म विद्युत महशुल तिर्दा पनि जरिवाना नलाग्ने निर्णय गरेर निर्देशन भइसकेको बताएका छन् । ‘जेठ ७ गतेसम्म विद्युत महशुल तिर्दा पनि जरिवाना लाग्दैन’, उनले भनेका छन् ‘निर्णय र निर्देशन भइसकेकोछ ।’
यद्यपि उनले अनलाईबाट तिर्न सक्ने ग्राहकले महशुल तिरेर प्राधिकरणको वित्तीय जोखिमलाई न्यूनीकरणका लागि सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् । ‘तथापि, अनलाइनबाट तिर्न सक्नेले महशुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोगको लागि सबैमा अनुरोध गर्दछु’ उनले भनेका छन् ।