तराइ खबर- महोत्तरी, लकडाउनले सहरबजार मात्रै होइन् वनजंगल पनि सुनसान छ ।
कोरोनाभाइरसको महामारीबाट बच्न सबैले आफूलाई घरभित्र लकडाउन गरेका छन् । तर वनमा काठको चोरी तस्करी र डढेंलोले वन्यजन्तु पनि असुरक्षित भएका छन् भने जंगल नजिकैको गाउँमा आगलागीको खतरा छ ।
शुक्रबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुबाट ४७ वटा चिरान फेन्टा र आरा बरामद भयो । डिभिजन वन कार्यालय महोत्तरीको टोलीले बेडरुम र बख्रा खोरमा लुकाइ राखिएको ५१.२ क्यूफिट सालको काठ र १.९४ क्यूफिट कर्माको तयारी चिरान काठ बरामद गर्यो।
वन तस्करी विरुद्ध ‘स्टिङ्ग अप्रेसन’ मा पुगेका वन टोलीले पाटु प्राकृतिक सामुदायिक वन नजिकैको बस्तीका घरहरूमा २ पिक काठ भेटेको थियो । पाटु प्राकृतिक सामुदायिक वन चुरे संरक्षित क्षेत्रमा पर्दछ ।
रेन्जर सन्तोषकुमार यादवको नेतृत्वमा खटिएको टोलीले काठ तस्करीको आरोपमा पाटुका रामकृष्ण माझीलाई पनि नियन्त्रणमा लिएका छन् । ‘हाते चिरान आराले तयार गरी लुकाइएको फेन्टा बेड रुम र बाख्रा खोरमा भेटिएको थियो,’ उनले भने।
बिहीबार महोत्तरीको बर्दिबास–१० स्थित खयरमारा स्थित बाँके मरहा साँझेदारी वन नजिकै आँप बगैंचाबाट पाँच थान सालको गोली भेटियो । त्यसको नजिकैको वन क्षेत्रका रुख ढालेर लान टुक्राइएको चार थान साल जातकै काठको गोली फेला गरेको थियो ।
बाँके सबडिभिजन कार्यालय लक्ष्मिनियाँका साहयक वनअधिकृत रामसुन्दर साहका अनुसार वन र आँप बगैंचामा फेला परेको बहुमूल्य साल जातको ५० क्यूफिट काठ रहेको छ । लकडाउनको मौका छोपेर काठ तस्करले रुख काटेर लान लागेको दुई ट्रयाक्टर काठ बरामद गरिएको छ । काठ तस्करी हुन लागेको खबर वन कर्मचारीहरुलाई गाउँलेले दिएका थिए ।
चुरेका वन कटानी र काठ तस्करीविरुद्ध डिभिजन वन कार्यालय महोत्तरीले ‘स्टिङ्ग अपरेसन’ चलाएको छ । लकडाउनको मौका छोपेर तस्करले चुरेका लोभलाग्दो सालको जंगलमा आँखा लगाएका छन् ।
कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउन सरकार,प्रहरी–प्रशासन व्यस्त रहेको मौकामा हरिया सालका रुख कटान गरेर तस्करहरुले चौका हानिरहेका छन् ।
तस्करलाई निरुत्साहित गर्न विशेष टोली परिचालन गरिएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले जनाए । लकडाउनको अवधिमा तस्करी गर्न लागिएको १ सय ८६ क्यूफिट साल जातको काठ बरामद गरिएको छ । काठ तस्करीमा प्रयोग गरिएको तीन वटा मोटरसाइकल, एउटा टेम्पु, दुई दर्जन बढी साइकल नियन्त्रणमा लिइएको छ ।
तस्करी नियन्त्रणका वन कर्मचारी, सशस्त्र वन रक्षक, रक्षकसहितका छुट्टा–छुट्टै तीन टोलीमा ४५ जना खटिरहेका छन् । तस्कर विरुद्धका सूचना दिएर वन कार्यालयलाई गाउँलेहरुले सहयोग गरिरहेका छन् ।