तराइ खबर समाचारदाता- प्रदेश नं २
बिश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरस (कोभिड19) का कारन प्रदेश २ मा वैशाख ६ गते दिउँसोसम्म कोरोना भाइरसका शङ्कास्पद ५ सय ५१ जनाको स्वाब परीक्षण गरिएकोमा ५ सय १२ जनाको रिपोर्ट निगेटिभ आएको छ । ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । चार जनाको रिपोर्ट यसअघि नै पोजेटिभ आइसकेको छ । पोजेटिभ रिपोर्ट आएका चार जनाको पर्साको बीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको छ ।
त्यसैगरी, वैशाख ६ गतेसम्म आरडीटी किटबाट परीक्षण गरिएका १ हजार ८ सय २२ जनाको स्याम्पल सङ्कलनमा १ हजार ८ सय १९ जनाको रिपोर्ट निगेटिभ आएको छ भने सप्तरी जिल्लामा गरिएको परीक्षणमा दुई र सर्लाही जिल्लामा गरिएको परीक्षण एक जना गरी तीन जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सप्तरीका दुई जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपनि पिसीआर प्रविधिबाट गरिएको स्वाब परीक्षण रिपोर्टमा भने नेगेटिभ देखिएको छ । सर्लाहीमा पोजेटिभ रिपोर्ट आएका ती युवाको स्वाब परीक्षणका लागि जनकपुर अस्पताल पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भएको छ ।
प्रदेश २ भरिका १ सय ७१ ओटा क्वारेन्टाइनको बेड क्षमता ३ हजार ६ सय ९ रहेको छ । हालसम्म १ हजार २ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् भने १ हजार ६ सय ७७ जना होम क्वारेण्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. हरिशचन्द्र यादवले जानकारी दिनु भयो ।
कोरोना भाइरस रोकथामका लागि प्रदेश तथा स्थानीय सरकारले गरेका कार्यबारे प्रदेश स्तरीय सर्वदलीय अनुगमन समितिले वैशाख ६ गतेदेखि अनुगमन थालेको छ । अनुगमन टोलीले प्रदेश भरिका सबै जिल्लाका स्थानीय तहमा अनुगमन गर्नेछ । टोलीमा समाजवादी पार्टीका प्रदेश सांसद तथा प्रमुख सचेतक शैलेन्द्र यादव, राजपाका सांसद तथा प्रमुख सचेतक प्रमेश्वर साह, नेकपाका सांसद रामचन्द्र मण्डल, नेपाली कांग्रेसका सांसद तथा प्रमुख सचेतक रामसरोज यादवसहित चिकित्सक रहेका छन् । टोलीले प्रदेशस्तर, जिल्लास्तर र स्थानीय तहमा सञ्चालित क्वारेन्टाइन, आइसोलेशन, कोरोना विशेष अस्पतालहरूमा भएका काम कारबाही, राहत वितरण कार्य, नागरिकको जनजीवनमा परेको प्रभाव बारे अनुगमन गर्ने जनाइएको छ । अनुगमन पश्चात् प्रदेश सरकारलाई सुझाव दिइने अनुगमन समितिका सदस्य शैलेन्द्र यादवले बताउनु भयो ।
प्रदेश २ सरकारले नेपाल भारत सीमा-नाका लकडाउनका कारण शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि आठ ओटै जिल्लाका विभिन्न नाकामा सिसिटिभी जडान गर्ने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले सो जानकारी गराउँदै भन्नुभयो, ‘नेपाल भारत सीमा नाकामा सिसिटिभी क्यामेरा जडानका लागि करिब ५ करोड रूपैयाँ खर्च हुने छ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो ।’ भारतसँग जोडिएको खुला सीमाका कारण भारतबाट रातिको समयमा लुकिछिपी मानिसहरू नेपाल छिर्ने गरेको र त्यसले गर्दा कोरोना सङ्क्रमण रोकथाममा झन कठिनाइ भएको भन्दै सिसिटिभी क्यामेरा अर्को विकल्पको रूपमा अघि सारिएको बताउनु भयो । यस्तै, सीमानाकामा निगरानी बढाउनका लागि सुरक्षाकर्मीलाई १ सय थान साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको मन्त्री कुशवाहाले बताउनु भयो ।
पर्साको बीरगञ्ज महानगरपालिकाले सुविधा सम्पन्न कोभिड- १९ अस्पताल सञ्चालनमा ल्याउन वैशाख ६ गते बीरगञ्जको गण्डक अस्पतालसँग सम्झौता गरेको छ । बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी र नेकपा महानगर कमिटीका अध्यक्ष एवम् गण्डक अस्पतालका सञ्चालक रहवर अन्सारीलाई साक्षी राखेर सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताको अवधि तीन महिनाको रहने उल्लेख छ ।
प्रदेश २ का जिल्लाहरूमा वैशाख ५ गते राति आएको हावाहुरी र असिना पानीले मकै बाली, तरकारी बाली, उखु बालीमा क्षति पुर्याउनुका साथै कतिपय व्यक्तिहरूको घरका छानामा समेत क्षति पुगेको छ ।
सभार:-महोत्तरी टुडे