८ बैशाख २०७७ – छोराछोरीकी आमा सिर्जना चेपाङको पेटमा अर्को पनि बच्चा छ। ६ महिनाकी गर्भवती सिर्जना १२ जनाको सगोलको परिवारमा बस्छिन् । उनले पोषिलो कुरा खाने, नियमित आइरन चक्की खाने, पटक-पटक स्वास्थ्य संस्थामा गएर चेकचाँज गराउने त परको कुरा, भोक भेटिने गरी मिठो खानेकुरा पेटभरी खान नपाएको महिनौं भइसक्यो ।
आफ्नो पाखो बारीमा फलेका अन्नमध्ये अहिले मकैमात्र बाँकी छ, त्यही मकैको खोले बनाएर बिहान-बेलुकाको छाक टारिरहेकी छिन् सिर्जना ।
सिर्जनाको जस्तै यो समस्या धादिङको गजुरी गाउँपालिका-३ चिलाउनेखर्कका चेपाङहरूको सामूहिक समस्या हो। महाभारत पहाड क्षेत्रमा
बसोबास गर्ने अधिकाँश चेपाङ समुदायका घरहरूमा यतिबेला खाद्यान्न संकट देखिएको छ। धादिङको दक्षिणी क्षेत्रको महाभारत पहाड क्षेत्रमा रहेका चेपाङ गाउँमा भोकमरीको सिजन सुरु भएको छ।
देशभर लकडाउन छ, दैनिक ज्यालादारीमा काम गर्न सक्नेहरूले पनि काम गर्न पाएका छैनन् । आफ्नो पाखो बारीमा भएको उब्जनी पनि सकिएको र काम गर्न पनि नपाएकाले विशेषगरी गर्भवती, वृद्धवृद्धा र बालबालिका भोकभोकै पर्न थालेका छन् । सिर्जनाले भनिन्, “पाएको दिन सागपात र कन्दमुल पकाएर ढिडोसँग खाने हो, नपाएको दिन नुन खुर्सानीसँग ढिडो खानेबाहेक अरु केही छैन ।’
चिलाउनेखर्कका चेपाङहरूका धेरैथोरै पाखोबारी सबैको छ। भदौताका भित्रिएको मकै र दसैँपछि भित्र्याएको कोदो पनि सकिसकेको छ। पाखोबारीमा भएको उब्जनीले ६ महिना पनि खान पुग्दैन। बाँकी छ महिना ज्याला मदजुरी गरी किनेर खाने चेपाङ बस्तीमा लकडाउनका कारण बजार क्षेत्रमा काम गर्न जान नपाउँदा भोकै पो मरिने हो कि भन्ने चिन्ता थपिएको छ।
गर्भवती, वृद्धवृद्धा र बालबालिका भोकभोकै पर्न थालेका छन् ।
सिर्जनाका पति कृष्णबहादुर चेपाङले भने, ‘हामी १२ जनाको परिवार सँगै छौँ, सबैले खेतीपातीको सिजनभन्दा बाहेकको समय ज्याला मजदुरी नै गरेर बिहान-बेलुकाको खानाको जोहो गर्छौं। अहिले बन्द भएकाले झन् समस्या थपिएको छ।’ फागुन महिनादेखि असारसम्म अधिकांश चेपाङ बस्तीमा अनिकाल लाग्छ। यो बीचमा काम गर्न सक्नेहरू दैनिक ज्यालामजदुरी गरेर जसोतसो आफ्नो प्राण धानिरहेका हुन्छन् तर यस वर्ष खाद्यान्न संकट सुरु हुनै थालेपछि देशभर भएको लकडाउनले सबैभन्दा बढी मार यी विपन्न चेपाङहरूलाई परेको छ। स्थानीय सोमबहादुर चेपाङले भने, ‘चैत्र- बैशाखको यो खडेरीमा जंगलमा गिठाभ्याकुर ‘पनि पाइँदैन, एकथरी अन्तमा पानी हालेर खोले खानुबाहेक अरु केही बाँकी छैन ।’ चार छोराछोरीकी आमा अस्मिता चेपाङले पनि लकडाउनले किनेर खानसमेत नपाइएको गुनासो गरिन् । “घरको अन्नले ५ महिना पुग्छ, त्यसपछि श्रीमानले काम गरेर ल्याएको रकमले खाना किन्ने गरेका थियौँ,’ अस्मिताले भनिन्, ‘अहिले त काम पनि बन्द छ, अब घरमा अन्न सकिएपछि के खाने हो, अत्यासमा छौँ।’
गजुरी गाउँपालिकाले पनि यी र यस्तै समस्यामा परेका परिवारहरूको लागि भनेर खाद्यान्न वितरण गर्नको लागि फुड बैंक सञ्चालन गरेको
छ। समस्यामा परेका घरधुरीको लगत संकलन गरिरहेकाले चुल्हो नै बल्न छाडेको परिवारलाई खाद्यान्न वितरण भइरहेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए।
उनले भने, ‘लकडाउन र कोरोना संक्रमणका कारण अहिलेको भन्दा भयावह स्थिति आउन सक्छ भन्नेहिसाबले अहिले हामीले खाद्यान्न संकलन तथा जोगावटको काम गरिहेका छौँ, अति नै आवश्यक परेकाहरूलाई सूचनाको आधारमा गाउँमा पुगेर वितरण पनि गरिरहेका छौँ।’ साभार:अन्नपूर्णपोस्ट