काठमाडौं ११ बैशाख लोकतन्त्रको रक्षाका लागि सबैलाई सजग रहन नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ। लोकतन्त्र दिवसको अवसर पारेर आज (बिहीबार) सन्देश जारी गर्दै लोकतन्त्रको रक्षाका लागि सबैलाई सजग रहन आग्रह गर्नुभएको हो।
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग रहन म आग्रह गर्दछु,अध्यक्ष देउवाले जारी गर्नु भएको सन्देशमा उल्लेख गर्नु भएको छ । देउवाले जारी गर्नुभएको सन्देशमा भनिएको छ, ‘यो अवसरमा वीर योद्धाहरुको साहस, संकल्प र वलिदानको धरोहरको रुपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौं भनेर प्रण गरौं ।’
सभापति देउवाले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको उल्लंघन गरेको भन्दै अध्यादेशहरु फिर्ता लिन सरकारसँग पुनः आग्रह गर्नुभएको छ।