“भोक र रोगको राजनिती बुझ्दैन सरकार”- रश्मिश्री सिंह

५ years अगाडी teraibulletin

“भोक र रोगको राजनिती बुझ्दैन सरकार”- रश्मिश्री सिंह

हामी दुइखुट्टे सामाजिक प्राणी,अरु प्राणी भन्दा विवेकशील ,बुद्धिमान र सभ्य प्राणी मनिन्छौं जसलाई मानव जाती भनेर चिनिन्छ। समयले कैयौं दशक र शताब्दी फेरी सके र हाम्रो अस्तित्व पनि फेरियो। गाँस बास र कपासको आधारभूत आवश्यकतालाई पूरा गर्दै शिक्षा, स्वास्थ्य, राम्रो लाईफ स्टाईल, डिजाइनर लुगा देश विदेशको भ्रमण इत्यादिमा दौडिरहेका थियौं।

दिन रात काम र अफिसको दौडाई आज बन्द भएको छ र हामी फेरी पनि कैयौ दशक पछाडी धकेलिएका छौं। अहिलेको लडाई र दौडाइ भोग विलासको लागि नभएर पापी पेटको लागि छ ।
देश लकडाउन भएको धेरै दिन वितिसक्यो र संक्रमितको संख्या पनि १६ बाट ३१ र ३१ बाट ४८ पुगिसक्यो। अहिले हाम्रो देश मात्र होइन पुरै विश्व नै कोरोनाबाट त्रसित छन् । तर त्यो त्रासको परिणाम भने अरु देशमा र हाम्रो देशमा निकै फरक छ । अरु देशमा जनता र जनताको पिडालाई बढि महत्व दिइन्छ भने हाम्रो देशमा राजनितीलाई अग्रस्थान दिईन्छ ।

यी कुरा त सबै नेपाली जनताका अगाडी छर्लङ्घ छ कारण र प्रमाण सहित । नेपालको अवस्थामा त रोगले मर्न भन्दा बढी भोकले मर्ने को डर बढि रहीको छ । रोगले ४८ जना संक्रमित भएर ७ जना निको पनि भइसके तर भोकले हजारौ गरीब र मजदूरहरु पिडित छन् । राजधानीबाट कैयौ दिनको यात्रा पार गर्न हिम्मत गरेकालाई गएर सोध्नुस् भोक भनेको केहो ? जवाफले गहभरी आँसु आउनेछ । उनीहरुको हात, खुुुट्टा र पुरै शरीरलाई सोधनुस् आराम कुन शब्दको नाम हो ? शायद जवाफ बाट तपाईँको मुटु काप्ने छ र ती स साना बालवालिकालाई रमाउनुको अर्थ सोधनुस् ? उतरले तपाईँको आत्मा भावुक हुनेछ ।

यस्तो बेलापनि राजनितिको चादर ओढेर जनताका पीडालाई ढाकछोप गर्नु कहाँ सम्म उचित होला ?
लकडाउनको चौँथो दिनमा पूर्व प्रधानमन्त्री झलनाथ खनालसंगको अन्तरर्वाता सार्वजनिक भएको थियो । “म विहान ५ बजे उठ्छु र योग गर्दे समाचार सुन्ने गछुृ”उहाँले भनुभयो । हुन त तपाईँलाई देश र देशबासीको पिडा जानकारी भएकैहोला ’cause तपाईँ नियमित रुपमा समाचार सुनुहुन्छ र टेलिभिजन पनि हेर्नुहुन्छु । तपाईँ ५ बजेर उठेर स्वस्थ्य हुनको लागि योग गर्नुहुन्छ तर ती कयौ दूरी पार गर्न हिँडेका जनताहरु आफ्नो भोको पेटको निर्वाह गर्न गाउँतिर फर्कदैछन् , झन् उनीहरुको स्वास्थ्यको कुरा त परै जाओस् । अझ केहिदिन अघि नै २ तिहाई सरकारमा रहेका पूर्व प्रधान्मन्त्री पुष्पकमल दाहाल चुलोमा मासु पकाउँदै गरेको तस्वीर सार्वजनिक भएको थियो । आशा छ मासु पनि स्वादिलो पाकेको होला र चुलो बाल्न र चुलोमा पकाउन पनि सिक्नुभएको होला तर खानाको पहिलो गाँस उठाउँदा देशको गरीब जनताहरुको याद आयो होला कि नाँइ ? नाम संगसंगै ‘कमरेड’शब्द जोडिएका अरु पनि राजनेताहरुको दिनचर्या रमाइलो नै बितिरहेको छ तर ती भोक र रोगमा पिसी रहेका नेपाली जनताहरुको मर्म बुझ्न चाहिँ कोहि कमरेड छैनन् । अब ‘कमरेड’ शब्द पनि लज्जित भएको होला।
प्रधानमन्त्रीको सम्बोधन र राष्ट्र्पतिको चिन्ता अनुचित होइन तर प्रधानमन्त्रीको सम्बोधनमा जनता प्रतिको झुकाव नहुनु अनुचित हो, आफ्नो देशको जनताको पिडा र दशगजामा अलपत्र परेकाहरुलाई अन्देखा गरेर सम्पन्न राष्ट्र्मा बसिरहेका नेपालीको देखावटी चिन्ता देखाउनु अनुचित हो । प्रधान मन्त्रीको कुर्सीमा बसेर लकडाउनको आदेश दिनु जनताको हितमा हो भने हरेक जनताको घरमा चुलो बल्ने अवस्था सिर्जना गर्नु उहाँको कर्तव्य होइन र ?
तपाईँलाई स्मरण गराइदिउँ, आफ्नो जन्मदिनको अवसरमा हेलिकप्टरबाट केक ल्याउन सक्नेले गाडी भाडा गरेर दिनरात हिडि रहने जनतालाई आफ्नो गन्तव्य स्थल सम्म पुर्याउन नसक्लान् र ? फेरी बैशाख ६ गते तपाईँको अर्को आदेश आयो,“जो जहाँ छ त्यहाँको निकायले खाध्यानन् पुर्याउने वयवस्था गर्नु तर गाउँ जान नदिनु ।”अब त झन् कयौ परिवारहरु अलपत्र हुनेछन् । तपाईँ त्यो स्थानीय सरकारको हातमा ती गरीबहरुलाई छोडिरहनु भएको छ जसले आफ्नो स्थानीय तहमै राहत वितरण गर्न सकेका होलान् कि नाइ ?
सुतेर उठ्ने वितिकै बिहान बिहान भताको चिया त्यसपछि कमिशनको खाना र भ्रष्टाचारबाट आएको पैसाले रात्री भोज गर्ने बानी बसेपछि त यसतो विपतको समयमा स्वास्थ्य सामग्रीको खरीद विक्रीमा नि घोटाला गर्न केही बेर लागेन ।

अन्तत त्यो जिम्मेवारी पनि नेपाली सेनालाई दिइयो तर उनीहरुले तयार गरेका प्रतिवेदन पनि मन्त्रालयहरुको बाटो घुम्दै गरेको पनि तीन हप्ता हुनै लाग्यो । शायद सबै मन्त्रालयमा अलि अलि कमिशन छुटयाए मात्र प्रतिवेदन पास हुने हो कि ? यो कार्यमा पनि राजनिती र कमिशननिती छिरेकै छ ।
कोरोना राहत कोषमा पनि दूई अर्ब रुपियाँभन्दा बढी रकम जम्मा भइसकेको छ । यो रकममा कुनै राजनिती चलखेल नभइ सहि सदुपयोग गरियोस् । विकसित देश जस्तो कोरोना भाइरस माथी अनुसन्धान गर्नको लागि अवश्य पनि त्यो रकम खर्चिने छैन । तर्सथ स्थानीय तह देखि लिएर टेकु अस्पताल सम्म चाहिने स्वास्थ्य सामग्रीलाई पहुँचमा ल्याउन कुनै ठूलो कुरा भएन । नेपालमै यत्रतत्र भौतारिएका गरीब तथा मजदूर जनतालाई आफ्नो गन्तव्य स्थलमै ल्याएर क्वारेन्टाइनको सुव व्यबस्था गर्न पनि रकमको उपयोग गर्न सकिन्छ । विपन्न,असहाय र दैनिक ज्यालामा घरपरिवार धान्नेलाई राहत बाँड्न राहतकोषमा पैसा कम नपर्ला तर के यो सब कार्य हुँदै छ ? उतर आउँछ, नाइ ।

हामी जनताप्रेमी भन्दापनि राजनितीप्रेमी छौँ र त्यो राजनिती जहाँ भ्रष्टाचारकै मौसमी बाजा बज्छ र भ्रष्टाचारकै गीत गुञ्जिन्छ ।
राष्टपती ज्यू, प्रधान्मन्त्री ज्यू र कमरेड कहलाउने राजनेता ज्यूहरु तपाईँहरु कतिको समाचार टेलिभजिन र सामाजिक संजाल चलाउनुहुन्छ हामीलाई थाहा छैन तर टाउकोमा सामानको पोको, एक काखमा बच्चा र मुहारमा कयौदिनको थकान भएको तस्विर सामाजिक संजालमा देख्दा हाम्रो मस्तिष्क विक्षुब्ध हुन्छ । भोक र तिर्खाको प्रवाह नगरि ६ र ७ वर्षको बालबालिकालाई राजमार्गमा हिँडेको देखेर यो मन रुन्छ। अझ गर्भबती महिलाका पिडालाई तपाईँ कसरी विर्सन सक्नुहुन्छ राष्ट्र्पतिज्यू ? आखिर तपाईँ पनि एक महिला र आमा नै हुनुहुन्छ । यस्तो अवस्थामा प्रधान्मन्त्रीको प्रतिक्रिया र निर्णय दिक्क लाग्दो छ । ‘समृद्ध नेपाल,सुखी नेपाली’मूल मन्त्रलाई यो आपत कालिनमा कसरी विर्सन सक्नु हुन्छ प्रधान मन्त्री ज्यू ? अझै यस्तो विपतको घडीमा अध्यादेश जारी गर्नुको अर्थ पनि तपाईँहरुको राजनिति तिरको झुकावको संज्ञा हो। जहाँ देशमा कोरोना संङ्क्रमितको संख्या बढ्दो क्रममा छ र दिन प्रतिदिन अवस्था नाजुक हुँदै गईरहेको छ। त्यहाँ राजनिती दल जोड्ने र फुटाउने जस्तो अध्यादेश जारी गरेको त मतलबै भएन । अब त सबैको नजर पनी कोरोनाबाट हटेर त्यो अध्यादेशमै अड्किएको छ। यस्लाई राजनितिको मैलो खेल नभनेर अरु के भन्ने ?
केन्द्र् र स्थानीय सरकारले कुनै कार्य नै नगरेको भन्ने होईन तर कुनै पनि कार्य द्रुत गतिमा भईरहेको छैन । कछुवा चालको गती यदि खरायो चालको गतीमा परिर्वतन हुने हो भने शायद यो विपदको अवस्था पनी चाँडै टर्ने होला ।
हामी विर्सन सक्छौ कि हामी मानव हौँ तर हामीमा मानवीय गुण नभए नि इतिहासले हामीलाई मानव जातिको नै संज्ञा दिनेछ । केही ज्ञान, विवेक अलिकति भावना र धेरै मानवता मिश्रित मानव आज राजनितीको भुमरीमा परेर होला शायद कैयौ गरीबहरु लाई अमानवीय व्यवहार खप्नु परेको अवस्था छ। तर पनि हामी मानव हौँ सरकार र केही मानवता बाँकी भए देशको जनताको गुहार सुनियोस् । आशा छ मानवीय भावना र राजनिती बीचको लडाँइमा मानवीय भावना नै जित्ला।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?