काठमाण्डौ १४ बैशाख-आज आइतबार दिउँसो दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक पाच -५ बजेको लागी सरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजको बैठकले लकडाउनका बारेमा निर्णय गर्ने सम्भावना छ ।लकडाउन लम्ब्याउने सरकारको तयारी छ ।
कोरोनाको सङ्क्रमण फैलिन नदिन लकडाउन नै उपयुक्त विधि भएकाले अझै कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको हो । तर, लकडाउन अहिलेको भन्दा केही खुकुलो बनाउने कि कडाइ गरेरै लम्ब्याउने भन्नेबारेमा छलफल पछि निर्णय हुनेछ ।कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको कार्यदलले लकडाउन एक हप्ता थप्न र सङ्क्रमणको अवस्था हेरेर केही ठाउँमा खुकुलो गर्न सकिने सुझाव दिएको छ ।
केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे पनि छलफल भइरहेको छ ।पछिल्लोपटक थपिएको लकडाउनको अवधि भोलि सकिंदैछ । प्रधानमन्त्री केपी ओलीले भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे निर्णय हुने बताउनुभएको छ ।