तराइ खबर | लकडाउनको समयमा नेपाल भारत सिमामा आएर रोकिएका कैलालीका १८३ नेपाली नेपाल भित्रिएसँगै आ-आफ्ना स्थानीय तहको क्वारेन्टाइनमा बसेकाछन् । केही समय क्वारेन्टाईनमा बसेर स्वास्थ्य परीक्षण पछि उनीहरु घर जाने भएकाहुन् । ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दार्चुला र बैतडी नाकाबाट सिमामा अड्केका १८३ जना शुक्रबार साँझ सम्म जिल्ला भित्रिसकेको बताउदै भारतको पलियामा रोकिएका १६० नेपालीलाई पनि ल्याउने प्रयास भैरहेको बताउनुभयो।
भारतमा मजदुरीकालागि गएका र घर फर्कने क्रममा सीमामा महिना दिनबढी रोकिएका कामदारहरु जिल्ला भित्रिने वित्तिकै क्वारेन्टाईनमा बस्नथालेका छन् । जिल्लाको सबैभन्दा बढी घोडाघोडी नगरपालिकाका ४६ जना मोहन्याल गाउँपालिकाका ४१ जना लगायत अन्य स्थानीयतहका कामदार सम्वन्धित क्वारेन्टाईनमा बस्नथालेका हुन् ।
घोडाघोडी नगरपालिका ९ का राम सिंह धामीले सीमामा अड्केको ३४ दिनपछि आफ्नो देश आउन पाउँदा ठुलै युद्ध जितेजस्तो भएको बताउनुभयो । उहाँले भारतको क्वारेन्टाइनमा बस्दा सामान्य स्वास्थ्य परिक्षण भएपनि कोरोना भाईरसको परीक्षण नभएको बताउँदै आफ्नो र परिवारको सुरक्षाकालागि आफूहरु क्वारेन्टाईन बस्न तयार भएको बताउनुभयो ।
घोडाघोडी ४ गैडाखेडाका गिता चौधरी पाँच महिना पहिले श्रीमानसँग भारतको पिथौरागढा मजदुरी गर्न जानुभएको थियो उहाँपनि कोरोनाको त्रास बढेसंगै नेपाल फर्कने क्रममा सिमामा रोकिनुभयो । गिताले भारतीय क्वारेन्टाईनमा बस्दाको अनुभव सुनाउदै भन्नुभयो ‘ त्याहाँपनि महिलालाई छुट्टै बस्ने व्यवस्था गरेको थियो खानपनि जेजस्तो भएपनि दिएकै थियो तर पनि भारतीय भूमीमा धेरैसमयसम्म बस्दा घरपरिवारको यादले सताईरहन्थ्यो जे जस्तो भएपनि आफ्नै देशमा पुग्नपाए हुन्थ्यो भन्ने लाग्दथ्यो ।’
तीनसय पचास जनालाई एउटै विधालय भवनमा राखेको बताउने गिताले महिला ९ जना मात्र रहेको बताउनुभयो । उहाँले भारतीय सुरक्षाकर्मिले साँझ विहान योगा गराउनुका साथै घाममा बसेपछि कोरोना लाग्दैन भन्दै घाममा बस्नलगाउने गरेको अनुभव सुनाउनुभयो । उहाँले महिनावारी हुदा समेत आफूलाई महिला सुरक्षाकर्मिले प्याड लगायतका सामाग्री दिएर सहयोग गरेको समेत बताउनुभयो । सिमामा महिना विताउने घोडाघोडी नगरपालिका १३ बर्षका बालक देखि ७५ बर्षका बृद्धवृद्धा समेत रहेकाछन् ।