सरकारले वीरगन्जको नारायणी अस्पतालमा पठाएको पीसीआर मेसिन तीन सातापछि मात्रै सञ्चालनमा आएको छ। प्रदेश सरकारको आग्रहमा
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रयोगमा रहेको पीसीआर मेसिन बैशाख ३ गते नै नारायणी अस्पतालमा पठाइएको थियो।
मेसिन सञ्चालनका लागि आवश्यक अन्य महँगा उपकरणहरू सरकारले नपठाएका कारण पीसीआर मेसिन अस्पतालको स्टोर रुममै ३ सातादेखि थन्क्याएर राखिएको थियो। आवश्यक अन्य उपकरण र औजारको जोहो गरेर मेसिन जडान गरि मंगलबारदेखि पीसीआर परीक्षण ल्याब सञ्चालन गरिएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।
पहिलो दिन १६ वटा स्वाब अस्पतालको ल्याबमा परीक्षण गरि रि-भेरीफिकेसनका लागि काठमाडौं उनले बताए। उनले भने, ‘मेसिनको टेष्टका लागि मंगलबार १६ जनाको स्वाब टेष्ट गरी रि-भेरीकेसनका लागि काठमाडौँ पठाएका छौँ, त्यहाँबाट आउने रिपोर्ट र यहाँको रिपोर्ट मेल खाएपछि मात्रै यहाँको ल्याबबाट नियमित पीसीआर परीक्षण सुरु गर्छौं।’
पीसीआर मेसिनबाट दैनिक अधिकतर्म ७० वटा स्वाबको परीक्षण गर्न सकिने डा. उपाध्यायले जानकारी दिए। सरकारले बैशाख ३ गते पीसीआर मेसिन मात्रै पठाएको तर त्यसका लागि आवश्यक विभिन्न किसिमका अन्य उपकरण र औजारहरू नपठाएकाले ती सामानको
जोहो गर्न समय लागेको अस्पतालले जनाएको छ।
यसअघि वीरगन्जमा पीसीआर ल्याब सञ्चालनमा आउन नसक्दा कोरोनाका शंकास्पद र संक्रामतहरूको स्वाब संकलन गरेर पीसीआर परिक्षणका लागि अस्पतालले काठमाडौंमै पठाउने गरेको थियो। अन्नपूर्ण पोस्ट दैनिक बाट