काठमाडौं । भारतद्वारा नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको कदमको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निन्दा गरेको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा शनिबार संयुक्तरुपमा जारी विज्ञप्तीले भारतीय कदमको निन्दा गरेको हो ।
‘सम्पूर्ण मानवसमुदाय अहिले कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य संकटसँग जुधिरहेको र यहि महामारीका विरुद्ध हाम्रा सबै प्रयास केन्द्रित रहेका बेला यसो गरिनु निन्दनीय छ,’ विज्ञप्तीमा उल्लेख छ ।
दुई देशका सरकारले उच्च तहमा गरेको उच्चस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने सहमति विपरित भारतले एकतर्फी रुपमा सडक निर्माण कार्य गरेको नेकपाले बताएको छ । पार्टीले तत्काल सो क्षेत्रमा सडक निर्माण कार्य रोक्न र विषयलाई थप जटिल बनाउने गतिविधि रोक्न भारतलाई आग्रह गरेको छ ।
त्यस्तै संयुक्तरुपम जारी गरिएको विज्ञप्तीमा ‘भारतको यो एकपक्षीय कदम सीमासम्बन्धी समस्यालाई दुवै तर्फका सरकारको उच्चतम तहमा भएका सहमतिबमोजिम दुई देशद्वारा स्थापित संयन्त्र हरुमार्फत् समाधान गर्नका लागि नेपालको तर्फबाट पटक पटक गरिएका अनुरोधको विपरित छ,’ नेकपा अध्यक्षद्वयले भनेका छन्, ‘दुई पक्षबीच भएका समझदारीका आधारमा कुटनीतिक माध्यमबाट सीमासम्बन्धी विषयहरु सुल्झाउनका लागि आवश्यक पहल गर्न नेपाल र भारतका सरकारलाई नेकपा आग्रह गर्दछ।’ छ ।
शनिबार बेलुका परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा सो सडक निर्माण गरेर नेपालसँग भएका सहमतिहरुको उल्लंघन गरेको समेत बताएको थियो। त त्यसको केहि घण्टामै भारतको विदेश मन्त्रालयले भारतले उक्त सडक आफ्नै भुमिमा पर्ने दाबी गरेको छ ।