काठमाडौं ।शनिबार बेलायतमा कोरोना सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको ज्यान गएको छ ।१० दिनअघि मेडिस्टोन अस्पतालमा भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिएका हुन् ।
ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आउनुभएको थियो । श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भएका उहाँमा कोरोनाको संक्रमण पाइएको थियो ।
हालसम्म बेलायतमा ५२ जना नेपालीको पनि मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनको संख्या ३१ हजार ५८७ पुगेको छ ।