काठमाण्डौ। बर्षौ देखि रिक्सा चलाएर परिवार पालेका उनीहरुले यति वेला कमाइ खाने बाटो बन्द भएको गुनासो गरेका छन् । रिक्सा चालकहरुले सरकारले रिक्सा चालकहरुको समस्या नहेरेको भन्दै रिक्सा चलाउन नपाउँदा केही व्यवस्था गरिदिन आग्रह गरेका छन् । उनीहरुले लकडाउनमा यात्रु नपाइने र कमाइ नहुने भएकाले भोकै मर्ने अवस्था आएको गुनासो समेत गरेका छन् ।
लकडाउनको समय थपिदै जाने र रिक्सा कुदाउन नपाउँदा कमाइ पनि नहुने भएकाले विहान बेलुका हातमुख छाक टार्न समस्या भएको रिक्सावालाहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले ल्याएको वजेटमा आफुहरुलाई कहिल्यै नसमेट्ने गरेको बताए ।
रिक्सा चलाएर परिवार पाल्ने मजदुरहरु रित्तो रिक्सामा दिन विताउने गरेका छन् । कहिले काँही सामान बोकेर केही कमाई भए पनि लकडाउन पछि कमाई नभएको उनीहरुको भनाइ छ ।
तराइमा सञ्चालन हुने रिक्साहरु यतिवेला धेरै कम संख्यामा मात्र पाइन्छन् । ५० बर्ष देखि रिक्सा चलाउदै आएकाहरु यति बेला आफ्नो पेसा नै धरापमा परेको गुनासो गर्न थालेका छन् ।