बीरगंजमा स्वाब परीक्षणमा ढिलाई हुँदा कोरोना उपचारमा समस्या

५ years अगाडी teraibulletin

बीरगंजमा स्वाब परीक्षणमा ढिलाई हुँदा कोरोना उपचारमा समस्या

वीरगञ्ज ३० बैशाख-वीरगञ्जमा २९ जना कोरोना संक्रमित भेटिएसँगै पिसिआर परीक्षणका लागि स्वाब संकलन तिव्र रुपमा भए पनि ल्याब परीक्षणमा ढिलाई हुँदा उपचारमा समस्या भएको छ । एकै परिवारका २ महिने बालिका सहित १७ जनालाई कोरोना संक्रमण देखिएपछि पिसिआर परीक्षणलाई तिव्र रुपमा अगाडी बढाईएको छ ।

हाल वीरगञ्ज महानगर क्षेत्रमा मात्रै ९ सय ६९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा २ सय २१ जनाको रिपोर्ट आएको र ति सबैको कोरोना नेगेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए।वीरगञ्जमा २५ गते देखि २९ गते सम्म पिसिआर परीक्षणका लागि स्वाब लिएका ७ सय २३ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।लामो समय देखि रिपोर्ट नआउँदा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको अवस्था बुझ्न गाह्रो भएको र यसले उपचारमा समेत समस्या पार्ने चिकित्सकहरुले बताएका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा रहेको पिसिआर मेसिनबाट हाल दैनिक रुपमा १० जनाको रिपोर्ट आउने गरेको भए पनि सो रिपोर्टलाई ट्रयालको रुपमा पुनः परीक्षणका लागि काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईने गरिएको छ ।केन्द्रिय प्रयोगशालाबाट परीक्षणमा भई रहेको ढिलाईले परीक्षण रिपोर्ट नआउँदा स्वाब परीक्षणका लागि पठाएका व्यक्तिहरुसँगै चिकित्सकहरुमा समेत चिन्ता थपिएको छ ।

विगत एक साता देखि वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २, १६ र २८ मा घोषणा गरिएको सिलबन्दी कायम रहेको र सो क्षेत्रमा नारायणी अस्पतालका चिकित्सक, नेपाली सेना र नेपाल प्रहरीले स्वाब संकलन कार्यलाई निरन्तर जारी राखेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक जिल्ला अधिकारी एवं प्रवक्ता ललित बहादुर बस्नेतले बताए ।

हाल नारायणी अस्पतालसँग आवश्यक उपकरण तथा प्राविधिक भए पनि स्वाब परीक्षणको रिपोर्ट समयमा प्राप्त नहुँदा समस्या भएको छ ।नारायणी अस्पताल वीरगञ्जले पर्सा सँगै वारा, रौतहट र सर्लाही जिल्लाबाट आएको स्वाब परीक्षणका लागि टेकु पठाउने र संक्रमितलाई उपचारका लागि नारायणी अस्पतालको आईसोलेशनमा भर्ना गर्दै आएको डा.उपाध्यायले जानकारी दिए ।

अन्तिम अपडेट:२०७७/ बैशाख ३० मंगलबार  

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?