काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्ण प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व नर्स दिवसको अवसरमा नर्सिङ पेशामा क्रियाशील सबैप्रति ‘सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति’को शुभकामना व्यक्त गर्नुभएको छ ।
मुलुक अहिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको कारणबाट उत्पन्न अत्यन्त कठिन र संवेदनशील घडीमा रहेको उल्लेख गर्दै उहाँले यतिबेला स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरुको भूमिका अत्यन्त उच्च रहेको बताउनुभएको छ ।
‘आफ्नो घर(परिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको अभावका बीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुप्रति विश्व नर्स दिवसको अवसरमा म उच्च सम्मान व्यक्त गर्दछु,’ उहाँले भन्नुभएको छ ।
कोरोना महामारीको यो अप्ठेरो समयमा निरन्तर संक्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिरहेका नर्सहरुलाई पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन र उनीहरुको मनोबल उच्च राख्न नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको समेत सभापति देउवाले बताउनुभएको छ ।