धनगढी । सोमबार बर्दियामा कोरोना संक्रमण पुष्टि भएकि ११ वर्षीय बालिका कैलालीको गोदावरीमा एकमहिना भन्दा बढी र भजनीमा चारदिन बसेर बर्दिया फर्किएको खबर बाहिर आएपछि उनको सम्पर्कमा रहेकाहरुको नमुना परिक्षण सुरु गरिएको छ । अहिलेसम्म उनको सम्पर्कमा आएको भन्दै एक सय १ जनाको नमुना संकलन गरिएको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँका ९६ र भजनी नगरपालिकाका ५ जना गरी अहिले सम्म एक सय १ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा ४२ दिन बसेर बर्दिया पुगेकी राजापुर नगरपालिकाकी ११ बर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको थ्रोट स्वाब संकलन गरिएको हो ।
चैत ५ गते कैलाली आएकी संक्रमित बालिका ४२ दिन बसेर बर्दिया फर्किएको खुलेसंगै उनको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी भएको थियो । बैशाख १६ गते ११ बर्षिय बालिका हजुरआमासंगै कैलालीबाट बर्दिया जान लागेपछि बर्दियाको राजापुर नगरपालिकाले क्वारेन्टाइनमा राखिएको थियो । बालिकाकी हजुरआमाको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।