तराइ खबर समाचारदाता- जनकपुरधाम, विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षाका पत्रकारको स्वास्थ्य चेकजाँच, सामाग्री र राहत प्याकेज घोषणा गर्न मधेशी पत्रकार समाज धनुषा र प्रदेश २ कार्यसमितिले रुपमा मांग गरेको छ ।
कोरोना भाइरसबाट धनुषा र पर्साका पत्रकार समेत प्रभावित भएको कारणले अग्रपंक्ति रहेर आफ्नो ज्यान जोखिम राखेर जनतालाई समसामयिक जानकारीका साथै सुसुचित र सचेत गराउन काम गर्दै आएकोले तिनीहरुको स्वास्थ्यको सुरक्षा गर्न सम्बन्धित निकायसँग समाजले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी मांग गरेको छ ।
कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था सहित आर्थिक मारमा परेकालाई राहत प्याकेज सहयोग गर्न प्रदेश तथा संघीय सरकारसँग समाजले प्रेस विज्ञप्ति मार्फत मांग गरेका छन ।
कोरोना उच्च जोखिमका बीच नागरिकलाई सुसूचित र सचेत गराउने जिम्मेवारी वहन गर्दै आएका सञ्चार क्षेत्र पनि यतिखेर कोरोना भाइरसबाट प्रभावित हुन पुगेको खबरले मधेशी पत्रकार समाज नेपाल दुःखी र चिन्तित भएको जनाएको छ ।
यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ ।
विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सकेसम्म घर वा कार्यालयमा बसेर समाचार संकलन गर्न अनुरोध गर्दै यदि घर बाहिर निस्किनु परे सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारहरुमा अपिल गरेको छ ।
मंगलवार पर्सा जिल्लाको विरगंजमा २ र धनुषाको जनकपुरधाममा १ जना पत्रकार संक्रमित हुन पुगेको छ र पर्सामा २ जना माथि सक्रमणको आशंका गरिएको छ र अन्य पत्रकारको स्वास्थ्य परीक्षण भैरहेको अवस्था छ ।