धनगढी । नेपालमा पनि नोबेल कोरोना भाइरसका संक्रमित बढ्दै गएपछी कैलाली जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ । कैलालीको छिमेकी जिल्ला बर्दियामा सोमबार संक्रमण पुष्टि भएकी ११ बर्षीय बालिका गोदावरी नगरपालिका हुँदै भजनीमा समेत दिन बसेर गएकी र त्यस्तै काठमाडौंमा संक्रमण पुष्टि भएकि महिलासमेत गोदावरीमा केही घण्टा बसेको जानकारी बाहिर आएपछि कैलालीमा पनि अन्य आवागमनमा कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेपछि आवागमनमा कडाई गरिएको हो ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले अर्को जिल्ला जाने पास दिन बन्द भईसकेको बताए । ‘गृह मन्त्रालयको निर्णय अनुसार आवागमनमा कडा गरेका छौँ । अत्यावश्यक परेपनि दुबै जिल्लाको सहमती लिनुपर्ने मापदण्ड बनाएका छौँ ।’ उनले भने।
जिल्ला बाहिरको आवागमनलाई कडा गरिएपनि जिल्लाभित्र भने लकडाउन खुकुलो छ । अहिले गृह मन्त्रालयले अनुमती नदिएका व्यवसाय समेत सञ्चालन भएका छन् भने स्थानीय बजारहरुमा मानिसहरुको उपस्थिति बाक्लिन थालेको छ