धनगढी । एक महिनाअघि सरकारले सुदूरपश्चिम पठाएका चिकित्सकहरु काठमाडौँ फर्किएका छन् । कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि संघिय सरकारले सुदूरपश्चिम पठाएका ३३ जना आवसीय चिकित्सक आज फर्किएका हुन् ।
बैशाख ५ गते यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको थियो । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट हेमराज पाण्डेले उनीहरु आज दिउँसो यति एयरलाईन्सको जहाज मार्फत काठमाडौँ फर्किएको बताए ।
विश्वभरी नै कोरोनाको महामारी फैलिएका बेला सुदूरपश्चिम पनि उच्च जोखिममा रहेका कारण संघीय सरकारले ३३ जना चिकित्सक पठाएको थियो । सरकारी छात्रवृत्तिमा पढिरहेका ३३ आवासीय चिकित्सक मध्ये १४ सेती प्रादेशिक अस्पताल, महाकाली अस्पतालमा चार, अछाम, डडेल्धुरा, बझाङमा तीन/तीन जना खटाइएको थियो भने बैतडी, दार्चुला र कैलालीको टीकापुर अस्पतालमा दुई/दुई जना खटाइएको थियो ।
उक्त टोलीमा इन्टरनल मेडिसिनका १६ जना डाक्टर, सर्जरीका पाँच, बालरोगका दुई, एनेस्थेसियाका एक, अर्थोेपेडिकका तीनजना चिकित्सक रहेका थिए । त्यस्तै नाककान घाँटीका दुई जना, स्त्रीरोगका दुई जना र दुईजना रेडियोलोजिष्ट रहेका थिए । (दिनेशखबर)