धनगढी । कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-६ बिजुलियाका सुरज चौधरी र सोही उपमहानगरपालिका ११ बेलाका अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुरजकै घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीको टोलिले अर्जुन चौधरीलाई सोधपुछ गर्दा सुरजले लागूऔषध बिक्रीवितरण गर्ने गरेको पत्ता लागेपछि प्रहरीले सुरजको घरको कोठा खानतलासी गरेको थियो ।
कोठा खानतलासी गर्दा काठमा राखेको बाकसको कुना मुनि कालो टेपले बेरेर कागजमा लुकाइराखेको अवस्थामा पाँच वटा पोका भेट्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । बस्नेतले उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको बताए ।