काठमाण्डौ । भारतमा मंगलबार कोरोना संक्रमितको संख्या लाख नाघेको छ। यो संख्या एसियामै सर्वाधिक हो।
यसअघि एसियाली मुलुकमा सबैभन्दा बढी संक्रमितको संख्या चीनमा थियो।
भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ९७० नयाँ संक्रमित थपिएका हुन्। योसमेत भारतमा कोरोना संक्रमण पुष्टि हुने व्यक्तिको संख्या १ लाख १ हजार १ सय ३९ पुगेको हो।
भारतका राज्य सरकारहरूले कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न लगाइएको लकडाउन केही खुकुलो बनाएको भोलिपल्ट यसरी संक्रमितको संख्या बढेको हो।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३४ जनाको ज्यान पनि गएको छ। योसमेत भारतमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ३ हजार १ सय ६३ पुगेको छ।
सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा ३५ हजार ५८ जनामा देखिएको छ, जहाँ मात्रै १ हजार २ सय ४९ जनाको मृत्यु भएको छ।
यस्तै संक्रमितमध्ये भारतमा अहिलेसम्म ३९ हजार १ सय ७४ जना निको भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारतमा कोरोना संक्रमण जुन महिनामा उत्कर्ष पुग्ने अनुमान रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।