भारतीय कुटनीतिज्ञ भन्छन्- ‘वार्ताबाहेक अरू विकल्प छैन’

५ years अगाडी teraibulletin

भारतीय कुटनीतिज्ञ भन्छन्- ‘वार्ताबाहेक अरू विकल्प छैन’

काठमाडौं ।नेपाल मामिलाका जानकार भारतीय कूटनीतिज्ञहरूले सीमा विवादलाई लिएर पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा तनाव देखिएकामा चिन्ता व्यक्त गर्दै आपसी संवादबाट समाधान पहिल्याउनुको विकल्प नरहेको बताएका छन् ।

तत्कालको परिस्थितिमा ‘वातावरण प्रतिकूल देखिएको’ भन्दै नेतृत्वले संयम गुमाउन नहुने र उत्तेजना फैलाउने अभिव्यक्तिहरू दिनबाट बच्नुपर्ने उनीहरूको धारणा छ । नेपाल र भारतबीचको विवादमा चीनलाई ल्याउनु अर्थहीन भएको समेत उनीहरूको जिकिर छ ।

नेपाल र भारतबीच सात दशकदेखि उल्झनका रूपमा रहेको लिपुलेक–कालापानी क्षेत्रसम्बन्धी विवाद गत २६ वैशाखमा भारतले एकतर्फी ढंगले पिथौरागढ–लिपुलेक लिंक सडक खण्ड उद्घाटन गरेपछि चुलिएको हो । जवाफमा नेपालले बुधबार लिम्पियाधुरापूर्वको भूभागलाई समेटेर नक्सा जारी गरेको छ ।

नेपालका लागि पूर्वराजदूत केभी राजनले सीमा विवादलाई लिएर दुई देशबीच पछिल्लो समय देखिएको अविश्वास ‘चिन्ताजनक’ भएको बताए । उनका अनुसार परिस्थिति क्रमशस् निकै जोखिमपूर्ण बन्दै गएको छ । उनले नेपाल र भारतबीच छलफल एवं वार्ताबाट सुल्झाउनै नसकिने विवाद र समस्या कुनै नरहेको धारणा व्यक्त गरे । ‘मेरो अनुभव र बुझाइमा नेपाल–भारतबीचको सम्बन्ध यति पुरानो र प्रगाढ छ कि जुनसुकै विवाद पनि वार्ता र आपसी विश्वासबाटै सुल्झाउन सकिन्छ,’ राजनले भने, ‘तर, त्यसका लागि पहिले नै जनस्तरमा धारणा नबनोस् भन्नेमा सचेत हुनुपर्छ । अन्यथा वार्तामा बस्न र लचकता अपनाउन दुवै पक्षलाई कठिन हुन्छ ।’ यो खबर कान्तिपुर दैनिकमा छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?