काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ५८ जना नेपालीको शव नल्याइने भएको छ। लकडाउनका बेला अन्तर्राष्ट्रिय उडान समेत बन्द भएका कारण उनीहरुको शव ल्याउन नसकिएको हो।
यो अवधिमा विदेशमा ज्यान गुमाएका नेपाली नागरिकमध्ये ५८ जनाको सम्बन्धित देशमै अन्त्यष्टि गरिने भएको छ।
वैदेशिक रोजगार बोर्डले उनीहरुले काम गरेको मुलुकमै शव अन्त्यष्टि गर्न अनुमति दिन परिवारसँग स्वीकृति माग गरेकोमा ५८ परिवारले आफन्तको उतै अन्त्येष्टि गर्न सहमत भएका हुन्।
शव अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई ५० हजार रुपैयाँ सान्त्वना राहत दिने निर्णय गरेर बोर्डले मृतकका परिवारलाई शव उतै अन्त्येष्टि गर्नका लागि लिखित सहमति मागेको हो।
लकडाउन अवधि लम्बिँदै जाँदा शव ल्याउने टुंगो नभएकाले तिनै मुलुकमा अन्त्यष्टिका लागि आग्रह गरिएको बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।
हालसम्म बिभिन्न देशमा २ सय ७ जना नेपालीको शव रोकिएका छन्। प्रमुख चार देश साउदी, कतार, मलेसिया र यूएईमा मात्रै झण्डै २ सय नेपालीको शव रोकिएको छ।
वैदेशिक रोजगार बोर्डका अनुसार यूएईमा ४ महिलासहित ४६, साउदीमा १ महिलासहित ४९, मलेसियामा ४४ पुरुष र कतारमा एक महिलासहित ४१ जनाको यहि अवधिमा ज्यान गएको छ।
यीमध्ये यूएईमा ३२ जनाको शव अन्त्येष्टि गरिने भएको छ। यस्तै साउदीमा ७, मलेसियामा २ र कतारमा ६ जनाको शव अन्त्येष्टि गर्न परिवारले सहमति दिएका हुन्।
कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव नल्याइने भएपनि अरुको समेत शव लकडाउनका कारण ल्याउन सकिएको छैन।
कोरोनाका कारण यूएईमा ५, साउदीमा ३, कतारमा १ र टर्कीमा १ जनाको ज्यान गएको छ।
यसबाहेक अन्य कारणले कुवेतमा ११, बहराइनमा ३, सेसेल्समा १, दक्षिण कोरियामा ३, ओमानमा १, जोर्डनमा १ र अन्य देशमा ६ जनाको ज्यान गएको छ।