काठमाडौं । सेती प्रादेशिक अस्पताल कैलालीको आइसोलेसनमा रहेका बैतडीको शिवनाथ गाउँपालिकाका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा शनिबार कोरोना पुष्टि भएको हो ।
यसैहप्ता कैलालीको सिमावर्ती क्षेत्र पलियामा लकडाउका कारण रोकिएका उनीहरुको उद्धार गरी नेपाल ल्याइएको थियो।
ुजेठ ८ गते सीमावर्ती गौरीफन्टा नाका हुदै उद्धार गरिएकाहरु मध्ये उनीहरु पनि हुन्,ु अस्पतालका सुचनाअधिकारी दीलिपकुमार श्रेष्ठले बताए।
लकडाउका कारण लामो समय भारतमै अड्किएका दुई हजार बढी नेपालीहरुलाई सो दिन नेपाल भित्र्याइएको थियो।
नेपाल भित्र्याउने क्रममा गरिएको आरटीडी परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको थियो।
अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पनि उनीहरुमा संक्रमण पाइएको हो।
आइसोलेसन बेडको अभाव
शनिबार थप ४ जनामा कोरोना संक्रमण भेटिएपछि कैलालीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसन बेडको अभाव देखिएको छ।
अस्पतालमा रहेका २४ आइसोलेसन बेडमा यसअघि नै २३ जना रहेका छन्। यसअघि शुक्रबार समेत कैलालीमा संक्रमण देखिएका ३ जनालाई अस्पताल भर्ना गरिएको थियो भने बाँकी शंकास्पदलाई राखिएको छ।
अस्पतालका सुचना अधिकारी दीलिपकुमार श्रेष्ठले थप आइसोलेसन बेडको व्यवस्थापनमा जुटेको बताए।
ुआइसोलेसन बेडको अभाव देखिएको छ। कोठा ठूलो छ। त्यहाँभित्र थप बेडको व्यवस्थापनमा हामी जुटेका छौं,ु उनले भने।