सुनिल स्मृति गाउँपालिकाका अध्यक्षले वडाध्यक्षलाई कुटे

५ years अगाडी teraibulletin

सुनिल स्मृति गाउँपालिकाका अध्यक्षले वडाध्यक्षलाई कुटे

काठमाडौं । रोल्पाको सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले वडा नम्बर ४ का वडा अध्यक्ष गञ्जबहादुर क्षेत्रीलाई कार्यपालिकाको बैठकमै कुटपिट गरेका छन् ।

उपाध्यक्ष,आठ जना वडा अध्यक्षहरु,गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाका कर्मचारीहरुको बीच चलिरहेको कार्यपालिकाको १४ औं बैठकमा गाउँपालिकाका अध्यक्ष घर्तीले आफूलाई एक्कासि मुखमा मुक्का प्रहार गरेको वडा अध्यक्ष क्षेत्रीले बताए ।

यसअघि जेठ ७ गते वडा कार्यालयले सुलीचौर बजारमा रहेका बैंक म्यानेजरहरुसङ्ग सामाजिक सुरक्षा भत्ता सातामा दुई दिन सोमबार र बिहीवार दिने निर्णय गरेको थियो ।

त्यसपछि भोलि पल्ट ८ गते गाउँपालिकाका अध्यक्ष घर्तीले वडा कार्यालयले गरेको निर्णय मान्य नहुने भन्दै बैक म्यानेजरहरु सङ्ग पुनः छलफल गरेर निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका थिए ।

यही विवाद बढ्दा कार्यपालिकाको शुक्रबार बसेको बैठक हात हालाहालको अवस्थामा पुगेको हो । आफूमाथि भएको अन्यायको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर स्थानीय प्रहरीमा निवेदन दर्ता गराएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिएका छन् ।

गाउँपालिका अध्यक्ष घर्तीले भने आफूले कुटपिट नगरेको र उल्टै आफू माथि वडा अध्यक्षले हातपात गरेको दावी गरेका छन् । गाउँपालिकाका अध्यक्ष घर्ती पूर्व माओवादीबाट र वडा अध्यक्ष क्षेत्री नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका हुन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?