विराटनगरको रानी नाका भएर २ सय ५० नेपाली स्वदेश भित्रिए
काठमाण्डौ । विराटनगर, १३ जेठ । भारतमा अलपत्र परेका नेपालीहरु विराटनगरको रानी नाका भएर मंगलबार २ सय ५० जना नेपाल प्रवेश गरेका छन् ।
बिहारको अररिया र मोरङको स्थानीय प्रशासनको समन्वयमा उनीहरुलाई नेपाल भित्र्याइएको हो । उनीहरु भारतको विभिन्न ठाउँबाट आएर विगत डेढ महिना देखि जोगबनी स्थित क्वारेनटाइनमा बसिरहेका थिए । यसै गरी भारत तर्फ सवारीका साधन र रेल सञ्चालन भए पछि कतिपय मंगलबार नै आइपुगेका पनि थिए ।
नेपाल प्रवेश गर्नेहरुमा रुकुम, मोरङ, सुनसरी, झापा, तेह्रथुम, पाँचथर लगायतका स्थानीयहरु रहेका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय निकायको क्वारेन्टाइनमा पठाउने गरी नेपाल प्रवेश गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।
विराटनगर प्रवेश गराइएकाहरुलाई तत्कालका लागि विराटनगरको डिएभी स्कुलमा बनाइएको होल्डिङ एरियामा राखिनेछ । नेपाली सेनाले व्यवस्थापना र रेखदेख गर्ने होल्डिङ एरियामा सुत्ने र खाने व्यवस्था मिलाइएको छ ।
नजिकै जिल्लाहरुका लागि मंगलबारनै क्वारेण्टाइनमा पठाइने र टाढाकालाई सम्वन्धित जिल्लामा समन्वय गरेर एक दुई दिनमै पठाइने प्रमुख जिल्ला अधिकारी भुजेलले जानकारी दिनु भयो ।
उहाँले नेपाल प्रवेश गरेकाहरुलाई स्थानीय तहमा स्थापना गरेका क्वारेन्टाइनमा १५ दिन सम्म राखिने जानकारी दिनु भयो । उनीहरुलाई सीमानाकामा समान्य ज्वरो परीक्षण गरेर प्रवेश गराइएको थियो ।