जाजरकोट । भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है ’ नवराजकै अगुवाइमा १८ जना युवाको टोली शनिबार दिउँसो १२ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ सोतीतर्फ हिँड्यो, जहाँ नवराजकी प्रेमिका थिइन् ।
टोलीका एक सदस्य सुदीप खड्काका अनुसार पैदल हिँडेको समूह साँझ करिब ५ बजे सोती पुगेको थियो । ‘दुई घण्टामै पुगिने बाटो भए पनि केटीले ५ बजे आउनु भनेकी हुनाले २–३ घण्टा बाटोमै अल्मलियौं,’ उनले भने, ‘नवराजले बाटोबाटै केटीसँग ‘टाइम–टाइम’ मा फोन सम्पर्क पनि गरिरहेका थिए ।’
नवराजको टोली साँझ करिब ५ बजेतिर केटीको घरभन्दा करिब ३० मिटर टाढाको दुरीमा पुग्यो । खड्काका अनुसार उनको परिवारका सदस्यले युवाहरु गाउँमा आएको थाहा पाइसकेका रहेछन् । केटीकी आमा प्रकाशी मल्लले ‘यो डुम किन आयो, अस्तिको चोटले पुगेनछ’ भन्दै गालीगलौज गर्न थालिन् । ‘ठूल्ठूलो स्वरमा गाली गर्न थालेपछि हामीहरु केही नबोली तलतिर फर्कियौं,’ खड्काले भने, ‘नवराजलाई पनि अब केटी लिन सकिँदैन, घर फर्किऔं भनेर मनायौं ।’ टोलीले करिब १० मिनेट टाढाको नाउला भन्ने ठाउँमा पुगेर एउटा घरमा पानी मागेर पिउन थाल्यो ।
खड्काका अनुसार त्यहाँ रहेका अपरिचित व्यक्तिले ‘बाबुहरु बस्नुस्, काफल खानुहोस्’ भनेर अलमल्याए । यो व्यबहार षड्यन्त्र हुनसक्ने आकलनसहित टोली हतारहतार मध्यपहाडी लोकमार्गतिर लाग्यो । तर, पाँच मिनेटमै एक्कासी ५०र६० जनाको समूह आएर ढुंगामुढा गर्न थाल्यो । ‘हामीहरु जीउ जोगाउन भाग्दाभाग्दै गाउँलेले चारैतिरबाट घेरा हालेर ढुंगा, हँसिया र चिरपटले हान्न थाले,’ उनले कहालीलाग्लो क्षण सम्झिँदै भने, ‘हामीहरु ज्यान जोगाउन भागाभाग गर्न थाल्यौं ।’ यसको विस्तृत खबर कान्तिपुर दैनिकमा छ ।