काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विदेशबाट नेपाली आउने क्रम बढ्ने आकलनसहित क्वारेन्टाइन, आइसोलेसन र परीक्षणको दायरा बढाउने गृहकार्य गरिरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मङ्गलबार गोरखापत्रसँग कुराकानी गर्दै भन्नुभयो, “पाँच लाख व्यक्तिको परीक्षण तुरुन्तै गराउने हिसाबले आवश्यक किट, स्वास्थ्य सामग्री, उपकरण मौजुदा राख्ने निर्णय गरिएको छ ।” उहाँले विदेशबाट आउने क्रम जारी रहने र भाइरस सङ्क्रमण अवधि लम्बिने अवस्थामा छ लाखभन्दा बढीको परीक्षण गर्नुपर्ने अवस्थासमेत आकलन गरी तयारी गरिएको बताउनुभयो ।
उहाँका अनुसार विदेशबाट आएकालाई परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, निश्चित अवधिपछि फेरि परीक्षण गरेर पूर्णतः स्वस्थ भएपछि परिवारमा पठाउने नीति सरकारले लिएको छ । मन्त्री ढकालले देशभर परीक्षण बढाइएकै कारण सङ्क्रमितको सङ्ख्या बढेको चर्चा गर्दै भन्नुभयो, “माघ ९ गते पहिलो केस पुष्टिका लागि हङ्कङ ल्याबको प्रयोग गरिएको थियो । यद्यपि यो महामारी बीचमै हामीले अहिले २० ठाउँबाट परीक्षणको सेवा दिइरहेका छौँ ।”
उहाँका अनुसार अहिलेसम्म एक लाख ५२ हजारलाई परीक्षणको दायरामा ल्याइसकिएको छ । नमुना सङ्कलन बढी भएको दिनमा तीन हजार आठ सयभन्दा बढीको पीसीआर परीक्षणसमेत गरिएको छ ।