नियात्रा- हिमाली गोरेटोमा चौबीस घण्टा

५ years अगाडी teraibulletin

नियात्रा- हिमाली गोरेटोमा चौबीस घण्टा

अब त उठ्नु पनि पर्ला । बाहिर घाम हेर्न थाल्यो भने त यहाँ मध्यदिन सम्म कुर्नु पर्छ। हो र ? अशोक सरले सिरानी बाट टाउको उठाउँदै घडी हेर्नु भयो । ए पाँच बजि सकेछ । सोनामलाई खवर गर्नु पर्छ है फेरी उ पनि हामी जस्तै सुतिरहला । सोनाम एउटा घुन्साली ठिटो । केटाकेटीमै पढ्नका लागि गाउँ छोडेको । दशौँ बर्ष उस्ले दार्जिलिङका गल्ली चहार्‍यो । १७ बर्षको हुँदा गाउँ फर्कियो। पढेर फर्कियो कि नपढी ? कहिल्यै सुनाएन । सायद उस्को पढाई उ जन्मेको माटो सुहाउँदो थिएन ।

पहाडमा जन्मिएर हिमाललाई कर्मथलो बनाएको म । लेकली नागिहरुमा पाईला चाल्न मेरा लागी कुनै कठिनाई थिएन । तर भोजपुरमा जन्मिएर तराईमा हुर्किएको असोक सरका लागि भने यात्रा कठिन र कहाली लाग्दो नै थियो । त्यसैले नै होला अरुबेला अलि अल्छी गर्ने उहाँलाई निन्द्राले अलि चाँडै छोडेछ क्यारे । आँफै उठेर तातो र पिरो चिया ओछ्यानमै ल्याउनु भयो । उठ्ने त मन थिएन । तर नउठी पनि भएन । लामो यात्रा तय गर्नु थियो हामीलाई ।

बैशाख महिना । बिदेशी पर्यटकहरुको पदमार्गमा चहलपहल बाक्लै थियो । कुम्भकर्ण, कञ्चनजङ्घा लगायतका दर्जनौ चुलीहरुको दर्शन गर्ने उत्कट अभिलाशा हुनेहरु घुन्सा खोलाको किनारै किनार उकालो लाग्थे । हामी पनि गन्तब्य तय गर्न ओरालो लाग्यौ । सबेरै धुन्जे पहाडमा ठोकिएका घामका किरणहरुले हर्क गुरुङको मधुर मुस्कानको आभा दिलाउँथे । त्यहि धुन्जे पहाडमा अलप भएका हर्क गुरुङ र गोपाल राईहरुको आत्मालाई साछी राख्दै हामी पनि याङ्मा पुग्ने लक्ष्य राखेर पदचापहरु अगाडी बढायौँ । हाम्रो पथ प्रदर्शक सोनाम । घुन्सा र फलेको बिचमा पर्ने ठाडो खोलालाई दायाँ पारेर उकालो लाग्यौँ । यो उकालो कति घण्टामा काटिन्छ सोनाम ? दुई घण्टामा । सोनामले जवाफ दियो । हिमाल चढ्नकै लागि जन्मिएको सोनामलाई दुई घण्टा लाग्ने बाटो ईनारको पानी खाएर हुर्केको म कसरी काटुँला र ? मलाई त चार घण्टा लाग्छ । असोक सरका कुरा सुनेर सोनाम ढाडस दिँदै भन्थ्यो – म सरलाई बोकेर पनि पुर्‍याउँला नि ।

भोजपत्रे, चिमाल र लालिगुराँसको जङ्गल छिचोल्दै हामी अगाडी बढ्यौँ । चारै तिर भयंकर अखण्ड शुन्यताको साम्राज्यमा हामी चार प्राणी उकालो चढिरह्यौ । दुई घण्टा उकालो हिडे पश्चात टिङटिङ बजेको घण्टीको झङ्कारले हामी सबैका कान ठाडा भए । यता कतै मन्दिर पनि छ सोनाम ? अशोक सरले सोध्नु भयो । सोनामले मुसुमुसु हाँस्दै जवाफ दियो- कहाँ हुनु र सर ! अब हामी नजिकै चौरी गोठ छ । त्यहाँ पुगेर केहि छिन बसौँला ।

हिड्दा हिड्दै हामीलाई कुहिरोले छपक्क छोप्यो । मात्र चौँरी गाईको कानमा छुण्ड्याएका घण्टीको आवाज पछ्याउँदै हामी लेकाली नागीमा निस्कियौँ । धेरै पर भित्तामा हरियो त्रिपाल टाँगेको ठाउँ देखियो । त्यहि हो ग्याब्ला टाँसीको गोठ । त्रिपाल तर्फ औल्याउँदै सोनामले भन्यो । कुकुर पालेको होला म अगाडी जान्छु तपाईहरु आउँदै गर्नुहोला । सोनाम अगाडी गएपछि हामी पनि पछि पछि लाग्यौँ । गोठबाट चौरी बाहिर निस्कन नपाउन भनेर लगाएको तगारो खोल्न मात्र हामीले के लागेका थियौँ । अजङ्गको भोटेकुकुर हामी माथी झम्टिएर आयो । कुकुर पनि यति डरलाग्दो कि घरमा बिदेशी कुकुर पालेर एउटै थालमा खाने र सोही कुकुर सँगै सुत्नेहरुको एक झम्टाईमै निदहराम गर्ने । गोठ रुघेर बसेकी याङ्गीले कुकुर समाए पछि मात्र हामी भित्र पस्यौ । कुकुरले अझै पनि आँखा तरेर हेरी नै रह्यौ । अशोक सरले सोध्नु भयो यो कुकुरलाई किन भोटेकुकुर भनेको । गोठमा आफ्नो ३ महिनाको नानी र श्रीमान् सँग मात्र बसेकी याङ्गीलाई अपरिचित ब्यक्तिले सोधेको प्रश्नले अचम्मित तुल्यायो क्यारे । उनका स्निग्ध आँखाहरु केही क्षण हामी माथि एकाकार भए । बसन्त ऋतुमा बनभरी फुलेको लालिगुराँस झै लालि चढेको उनको अनुहार अझै रातो भयो । उनि लज्जावति झार झै लजाउँदै अर्को पट्टी फर्किईन् । सोनामले हाँस्दै जवाफ दियो- भोट बाट ल्याएको भएर होला सर कि भोटेको गोठमा पालेर पो हो कि ?

बोल्दा बोल्दै बसन्त जीले आफ्नो झोलामा बोकेको मकै र भटमासको पोको निकाल्नु भयो । मैले मेरो झोलाबाट थर्मश निकाले । अनिमात्र चीरमृत प्रकृतिमा नवजीवन सञ्चार भएझै याङ्गीले मुख खोलीन् र भनिन् मेरोमा भोटे चिया छ त्यहि खानु । बाटो लामो छ । काम लाग्छ ।

याङ्गीको गोठमा भोटेनुन र नौनी घिउ लगाएर बनाएको भोटे चिया धित मरुञ्जेल पिएर उकालो लाग्यौँ । बाटोमा भेटिएका भोजपत्रे र लालिगुराँसका बोटहरुले हामीलाई छोड्न थाले । साना साना लहरे धुपी, सुनपाती र भैरुङपातीका पोथ्राहरु छिचोल्दै तीन घण्टाको यात्रा पछि हामी ४८२० मिटरको उचाईमा रहेको नागोला पास पुग्यौँ । मौसम अत्यन्तै चिसो । उकालो चढुन्जेल सम्म हिउँको आभास थिएन । मात्र चिसो । नागोला पास क्रस गरेर ओरालो झर्ने बेला हामीलाई सकस पर्‍यो । बसन्त ऋतुको मध्य सम्म पनि

बाटोको हिउँ जिउँको त्यूँ थियो । दुई तिर अग्ला अग्ला हिमालहरु बिचमा बाटो त्यो पनि हिउँले भरिएको । सोनाम देखि बाहेक अरु कसैलाई त्यो हिउँमा हिँडेको अनुभव थिएन । त्यहि भएर सोनामलाई अगाडी लगाएर हामी उसको पछि पछि लाग्यौँ ।

तपाईहरु मैले टेकेको पाईलामा पाईला राख्दै आउनु होला- सोनाम भन्दै अगाडी हिड्थ्यो । हामी तीनै जना एकले अर्काका पाईलाहरु पछ्याउँदै अगाडी बढ्यौ करिव ३०० मिटर हिउँको बाटो ओरालो झरेपछि एक पटकलाई हिउँ सकियो । बाल्यकालमा टेम्केडाँडा गएर मकालु हिमालको फोटो सम्म खिच्न भ्याउनु हुने अशोक सरलाई आज हिमालकै काखमा हिउँसँग लडीबुडी गर्दै हिड्ने सपना कहिल्यै थिएन । नत चैत्र बैशाखमा हावा हुण्डरी सहित परेका असिना बलेँसीमा बसेर बटुल्ने हामीलाई नै थियो । केहि तल झरेपछि पुनः अर्को गोठ देखियो । तर पहिले भन्दा फरक । वरिपरि ढुङ्गाको गाह्रो । माथीबाट काठले छाएको गोठ । पहिलेकै कुकुरले तर्साएका हामी केही बेर रोकियौ । धुरीबाट आउँदै गरेको धुवाँको मुस्लो । तर बाहिर भने सुनसान । पुनः सोनामलाई नै अगाडी बढायौँ । सोनाम गोठको छेउमा पुगेपछि मात्र थाहा भयो त्यो गोठमा कुकुर छैन । डोक्पा गुलिकको गोठ रहेछ- सोनाम परबाटै करायो । अगाडी नै हिउँले थकित बनाएका हामी लुखुर लुखुर गोठ सम्म पुग्यौ । हामीलाई देखेपछि गोठ भित्र बसेका बुढो मान्छे बाहिर निस्किए । उनि रहेछन् ओलाङ्चुङगोलाका गुलिक भोटिया । गोठमा बस्ने भएकोले सबैले उनलाई डोक्पा गुलिक भनेर सम्बोधन गर्ने ।

उनै सँगको भलाकुसारी पछि हाम्रो याङ्मा सम्मको बाटो तय भयो । अव कति लाग्ला पाला यहाँबाट याङ्मा पुग्न? अशोक सरले सोध्नु भयो । बुढाले अशोक सरको टाउको देखि खुट्टा सम्म नियालेर हेरेर भने तिमिहरुलाई १२ घण्टा लाग्छ । सोनामले मुसुमुसु हास्दै भन्यो अब १२ घण्टामा त रातको ११ बज्छ । अलि छिटो हिड्नु पर्छ ।

सोनामले यति भनेसि बुढाले बेलि बिस्तार लगाए – यो सिजनमा यो बाटो कोहि हिँडेको छैन । चौरी पनि हिँड्या छैन होला भागेर याङ्मा गएको बाहेक । धेरै तेर्सो बाटो नै छ । तर केही अचम्मको उकालो पनि छ । झण्डै ५८०० मिटर सम्मको उकालो चढ्नु पर्छ । हामीलाई धेरै समय थिएन गफ गरेर बस्ने । सोनाम चाहीँ केही समय आफ्नै भाषामा कुरा गर्न थाल्यो । हामीले बुझेनौँ । छ महिना सम्म हिउँले सुकेका लेकाली नागीका सुनपाती र लहरेधुपीहरुमा नयाँ पालुवा पलाउँदै थिए । हिउँ पग्गिएर धरतीमा हरियाली फर्कँदै थियो । लेकाली बनस्पतिको सुगन्धबाट मोहित हुँदै अगाडी बढ्नुको हामी सँग बिकल्प पनि त थिएन । हिउँदमा हिमनदीले बनाएका बिशाल बिशाल हिमाच्छिद खाडलहरुसँग तर्किँदै त कहिले हिमपहिरो सँगै खसेका बिशाल चट्टानहरु सँग भाग्दै अगाडी बढ्यौँ । लामो समय सम्म मानवरहित बनेको यो ठाउँ जहाँ नाउरका बथानहरु निर्वाध रुपमा चरिरहेका । उँभौली लागेको डाफे र मुनालहरु । अनन्त सम्म देखिने निलो आकास । दायाँ बायाँ हिउँले ढाकेका बिशाल पहाडहरु । आखिर स्वर्ग जहाँ थियो त हामी त्यहि थियौँ । हाम्रो यो हिडाई निरन्तर रुपमा चार घण्टा सम्म चल्यो । अब त हामी सँग बाटो देखाउने पनि कोहि थिएन । गोठ भएको ठाउँ भन्दा अगाडी त सोनाम पनि गएको थिएन । छ महिना अघि चौरी र चौरी गोठालfहरु हिँडेका गोरेटाहरु । त्यसमाथी हिमनदिले छेदन गरेर धागो छिनेको चङ्गा झै बनेको बाटो । अगाडी अगाडी सोनाम । पछाडी पछाडी हामी । अब त हामीलाई छ महिना अगाडीको चौरीको गोवर पछ्याउनुको बिकल्प रहेन ।

निरन्तर कहिले उकालो त कहिले ओरालो अनि तेर्सो हिड्दै करिव ४ घण्टाको हिडाई पछि क्षितिजमा एउटा भञ्ज्याङ देखियो । अनन्त सम्म देखिने काला पहाडहरु । हिउँले खाएको बालुवा । अनि निलो आकास नियाल्दै सोनामलाई लिएर बसन्त जी अगाडी लाग्नु भो । असोक सर र म पछाडी । जति अगाडी बढ्थ्यौ त्यति अशोक सरलाई हिड्न कठिन हुन्थ्यो । ठाउँ हेर्दा यति सुन्दर छ । हरेक बिरुवाका पालुवाहरु सुगन्धित छन् । यहि सुगन्धबाट म यति मोहित भएँकि म यहाँ बाट अगाडी बढ्न नै नसक्ने भई सकेँ । अशोक सरले यति भनेपछि भने मलाई पनि डर लाग्यो । उहाँ सँग जेनतेन भञ्याङको फेद सम्म त पुगियो । तर झण्डै ३०० मिटर अग्लो भञ्ज्याङ चढ्नु थियो । हामी ढिलो हिँडेको देखेर नै होला भञ्ज्याङको शीरमा पुगेका सोनाम हामी भए तिर फर्किए । उनले अशोक सरले बोकेको झोला बोकेर उहाँलाई डोर्‍याउन थाले । ठाडो उकालो । बालुवै बालुवाको उकालोमा कहिले बस्तै त कहिले अशोक सरलाई धकेल्दै म पनि उकालो चढिरह्यौँ । आधा उकालो चढेपछि अशोक सरले बाँच्ने आशा नै गुमाउनुभएछ क्यारे । मलाई अव यहि बालुवामा छोपेर घरमा चाही खवर पुर्‍याईदिनु होला अव म यो भन्दा अगाडी जान नसक्ने भएँ । मलाई मेरा कुनै आफन्तले नभेट्न नै लेखेको रहेछ मेरो तकलिफमा । अशोक सरका यी कुरा सुनेर सोनाम मुसुमुसु हाँस्यो र भन्यो मर्न त सबै मरिन्छ, सधैभरी कोहि पनि बाँच्दैन तर आजै चाहीँ कोहि पनि मर्दैन । अशोक सर जति हतास हुनुहुन्थ्यो सोनाम त्यति नै उत्साह भर्थ्यो । ४५ मिनट लगाएर हामी ५८०० मिटर अग्लो मार्साङ्ला भञ्ज्याङ पुग्यौँ । अब यो भन्दा अग्लो पहाड क्रस गर्नु पर्दैन । बिस्तारै बिस्तारै जानु पर्छ बेलैमा पुगिन्छ । सोनामले हामी भित्रको निभ्न लागेको आशाको दीयो जगाउन उत्साह भरेता पनि हामीलाई सायदै थाहा थियो उ पनि हामी जस्तै पहिलो यात्री हो त्यो यात्राका लागि।

मार्साङ्ला पासबाट पूर्वतर्फ क्षितिजमा देखिने नागोला पास । नागोला पासलाई जोड्ने त्यतिलामो हिमाली मैदान । जस्लाई पार गरेर हामी पश्चिम तर्फ लाग्दै थियौ । पूर्वतर्फको उज्याला र घमाईला पहाडहरुलाई छोड्दै पश्चिम तर्फ बाक्लो कुहिरोले छोपेका ग्लेसियरहरु छिचोल्दै हामी ओरालो झर्‍यौँ । हामी जति पश्चिम तर्फ लाग्थ्यौ सूर्य पनि हामी सँगै पश्चिम नै ढल्किरह्यो । सायद सूर्यको साम्राज्य चाँडै नै अन्त्य हुँदै हामी चन्द्रलोक प्रवेश गर्दैछौ ।

बाक्लो कुहिरो सँगै लामा लामा हिमनदीहरु पार गरेर अगाडी जानु पर्ने भयो । हामीले हिँडेका पदमार्ग हरु हराए । हामी कुहिरोको काग नै बन्यौँ जसरी कुहिरी मण्डल आकासमा काग रुमल्लिन्छ । कुहिरो पनि यति बाक्लोको आफु अगाडी हिड्दै गरेको साथीलाई नै ठम्याउन मुस्किल । कुहिरो सँगै छिन छिनमा चल्ने सिर सिर बतासले आकास केहि खुल्थ्यो । त्यहि बेला हामी टाढा सम्म गोरेटो पहिल्याउने प्रयत्न गर्थ्यौ । आकास सँगै केहिक्षण जोड सँग कुद्थ्यौँ । जब कुहिरोले आकास छोप्थ्यो पुनः चारै जना एकै ठाउँमा गुजुल्टिएर बस्थ्यौँ ।

एवम् रितले हिडिरहँदा खोला कराएको आवाजले हामीलाई केहि उत्साहित बनायो । याङ्मा खोला नजिक पुग्यौँ क्यारे हामी । तर जति ओरालो झर्दा पनि खोला भेटिएन । कल कल पानी बजेको आवाज सँगै हिडिरह्यौ । धेरै पछि मात्र थाहा भयो हामी हिडिरहेको ग्लेसियरको मुनि बगेको पानीको आवाज रहेछ त्यो । पुनः हाम्रा नौ नाडी गले थचक्क बस्यौ । लामो बाटोमा बिहान बोकेको बोतलको पानी सम्म पनि हामी सँग बाँकी थिएन नत पुग्नु पर्ने ठाउँको नै टुङ्गो थियो । फेरी उठेर ओरालो लाग्यौँ । हिमाल र पहाडी क्षेत्रको यात्रामा एउटा सत्य सँधै सत्य नै हुन्छ ओरालो झरिनै रहे खोलाको किनार अवस्य भेटिन्छ ।

रातको नौ बजे धेरै टाढा पिल पिल बत्ती को उज्यालो देखियो । त्यो उज्यालो हाम्रा लागि यति शक्तिशाली रह्यो कि हामीले दिनको उर्जाशील घाम बिर्सियौ । रात सँगै हामीलाई बाटो देखाउने जुन बिर्सियौँ । मात्र त्यहि उज्यालो हाम्रो गन्तव्य पहिल्याने सहारा थियो । करिव आधा घण्टाको घिस्राई पछि हामी सानो गोठमा पुग्यौँ । आज मात्रै सारेर ल्याएको चौँरी गोठ रहेछ त्यो । गोठमा पुग्ने बित्तिकै आफ्नो झोला बिसाएर अशोक सरले भन्नु भयो – म चाहीँ यहि बस्छु, अब त मरे पनि यहिँ मर्छु । बाटो भरी मुस्कुराउने सोनामले पुन मुस्कुराउँदै जवाफ दिए अव त मर्नै पर्दैन सर आफ्ना पुर्खा कोहि नपुगेको प्राकृतिक स्वर्गमा तपाईँ आइपुग्नु भयो । अब तपाईँ चाहेर पनि मर्न सक्नु हुन्न । यो प्रकृतिले तपाईँलाई मर्न होईन जिउँदै स्वर्गको आभास दिलाउन मात्र ल्याएको हो । आधा घण्टा थकाई मारेर हामी पुनः याङ्मा खोलाको तीरै तीर अगाडी बढ्यौँ । बसन्त ऋतुको छिप्पिँदो रातमा टहटह लागेका जुनको सहारा लिएर दायाँ बाँयाका अग्ला अग्ला हिमालहरु छिचोल्दै एक घण्टा हिँडे पछि धेरै पर पिल पिल उज्यालो देखियो । उज्यालोले हाम्रा आँखा ताने कि बस्ति हामी तर्फ तानियो । करिव पन्ध्र मिनेटमा हामी बत्ती बलेको घरमा पुग्यौँ । सोनामले घरको ढोका ढकढक्यायो । उस्ले के भन्यो त्यो त हामीले बुझेनौँ घर भित्रबाट एक जना बुढी मान्छे आँखा मिच्दै बाहिर निस्किईन । आधारातमा
मस्त निन्द्रामा रहेकी उनि हतार हतार आगो बालिन् । ठुलो भाँडोमा आलु उसिन्न बसालिन् ।

आलु पाकुन्जेल उनि जेनतेन हामी सँग कुरा गरिन् । भाषाकै समस्या हामी सँग उनको । सुरुसुरुमा सोनामले दोभासेको काम गरिरहे । सारन तारन सबै तिव्वत सँग भएसि कसरी बोल्न सकुन् हामी सँग उनिहरु । सरकारी उपस्तथितिको नाममा एउटा प्राथमिक बिद्यालय त रहेछ त्यहाँ तर त्यो पनि नाम मात्रको । बिद्यार्थी भने सुन्य संख्यामा । अन्य ठाउँबाट सायदै मात्र मानिसहरु पुग्ने पशुपालनमा अभ्यस्त वालुङ समुदायको एउटा सानो वस्ति याङ्मा । नियमित रुपमा पुग्ने भनेको चुनाव गराउन पुग्ने कर्मचारीहरु मात्र । जनगणना पनि कहाँ बसेर गर्छन थाहा हुन्नरे । तर कञ्चनजङ्घा संरक्षण क्षेत्रको स्थापनाले भने पछिल्लो पुस्तालाई केहि जागरुक भने बनाएको रहेछ । चौरीको घिउ छुर्पी र आलुको तिव्बत सँग ब्यापार गरेर जीवन जिउने आधार बनाएको सम्म भन्न भ्याईन उनले । हामीले पनि सेलाएका हातले तातो तातो आलु तासेर भोक मेटायौँ । सत्र घण्टाको यात्राले थाकेको हाम्रा शरिर न्यानो ओछ्यानको पर्खाईमा थिए । एकै छिनमा हाम्रो त्यो अभिलासा पनि पुरा भयो । याङ्मामै बुनेका गलैँचामा तिव्वती सिरक भित्र गुटमुटियौँ हामी । टिङटिङ घण्टिको आवाजले झल्याँस ब्युझिँदा आँखामै घामका किरणहरु परे । अर्को पट्टि फर्किएँ । असोक सर बसन्त र सोनाम मस्त निन्द्रामा थिए । भोटेनी दिदी बाहिर चौँरीका बाच्छाहरु सँग एक्लै कुरा गरिरहेकी थिईन् । म हतार हतार उठेर बाहिर निस्किएँ । उत्तर पट्टी ओमिखाङ्ग्री हिमाल तिब्बतलाई पछाडी पट्टी राखेर मलाई नै हेरेर उभिरहेझै लाग्थ्यो भने दक्षिणमा याङ्मा खोला क्षितिज पछ्याउँदै बगिरहेथ्यो । अनिमात्र घडी हेरेँ बिहानको छ बजिसकेछ ।

©खेमराज निरौला

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?