काठमाडौं । कोरोना भाइरस ९कोभिड(१९) नियन्त्रण गर्न बन्दाबन्दी सुुरू भएको साढे २ महिनामा १ सय जनाभन्दा बढी सर्वसाधारणले दुर्घटनामा ज्यान गुमाएका छन् ।
सरकारले अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाए पनि राति तथा आफूसुुखी लुकिछिपी सवारी चलाउँदा यतिको दुर्घटना भएको सम्बद्ध अधिकारीहरूको भनाइ छ ।
११ चैतबाट सुरू भएको बन्दाबन्दीको ७५औँ दिनसम्ममा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३३ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार यो बीचमा मुलुकभर एक हजार १७१ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १०८ जना पुरुष, १७ जना महिला र आठ जना बालबालिकाको मृत्यु भएको छ ।
त्यस्तै, ३२४ जना गम्भीर घाइते छन् । घाइतेमध्ये पुरुष २६५, महिला ४५ र १४ बालबालिका छन् । बन्दाबन्दीमा जोखिम मोलेर आफूखुसी सवारी सञ्चालन गर्दा दुर्घटना भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरज शाहीले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।