काठमाडौं । जिल्लाका चार कोरोना सङ्क्रमित धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका छन् । गत १४ गते सङ्क्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई युवक कोरोनामुक्त भएका हुन् ।
पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो । “चारै जना स्वस्थ हुनुहुन्छ, आइसोलेसनमा रहँदा कुनै लक्षण पनि देखिएन”, उहाँले भन्नुभयो । एकैसाथ सङ्क्रमण देखिएका तमानखोलाकै दुई युवकको भने पछिल्लो परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि अस्पतालको बसाइ लम्बिएको छ । लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिन्छ ।
निको भई घर फर्केपछि पनि केही समय अलग्गै बस्न र सावधानी अपनाउन भनिएको प्रमुख चिकित्सक पोखरेलले बताउनुभयो । योसँगै जिल्लामा कोरोना लागेर निको हुनेको सङ्ख्या छ पुगेको छ । यसअघि गत चैतमा सङ्क्रमित बागलुङ नगरपालिकाका दुई महिला कोरोनामुक्त भइसकेका छन् ।