पोखरा । महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरा महानगरपालिका–१८ सराङकोटमा भ्यूटावर निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिले वृहत्तर सराङकोट गुरुयोजनाअन्तर्गत रु दुई करोडमा आधुनिक भ्यूटावर निर्माणकार्य शुरु गरेको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित सो स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गर्ने लक्ष्यसहित समितिले विकासको गुरुयोजना निर्माण गरी विकासका पूर्वाधार निर्माणकार्य अघि बढाएको हो । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले औपचारिकरूपमा भ्यूटावर निर्माणकार्यको शिलान्यास गर्नुभएको थियो ।
पोखरा बजारबाट उत्तरपश्चिममा अवस्थित सराङकोट डाँडा सूर्योदय, सूर्यास्त तथा तालतलैया र माछापुच्छ«े, अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकनका लागि प्रख्यात रहँदै आएकामा आधुनिक भ्यूटावर निर्माण गरी थप पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ । पोखरा भित्रिने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा फेवातालपछि सराङकोट रहने गर्दछ ।
चारतलाको भूकम्प प्रतिरोधात्मक क्षमताको आधुनिक भ्यूटावरको पहिलो चरणको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो । समितिको नेतृत्वमा वृहत्तर गुरुयोजनाअन्तर्गत भ्यूटावरसहित शिवमन्दिर निर्माण, बहुउद्देश्यीय भवन, ५१ फिटको शिवमूर्ति, १०८ शिवलिङ्ग, १०८ शहस्त्र धारा, विभिन्न देवदेवीको मन्दिर निर्माणकार्य अघि बढाइएको हो ।
विशाल बुद्धमन्दिर तथा बुद्धमूर्ति स्थापना गर्ने, ऐतिहासिक सङ्ग्रहालय, बालउद्यान, पार्क फुटट्र्याक, हेलीप्याड, वनभोजस्थल आदि निर्माण गरिने गुरुयोजनामा समेटिएको छ । अध्यक्ष जिसीले भन्नुभयो, “प्राकृतिकरूपमा महत्वूर्ण सराङकोटलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने गुरुयोजनाअनुसार अहिले काम भइरहेको छ । गुरुयोजनाअन्तर्गतको भ्यूटावर निर्माणले समेत पर्यटन प्रवद्र्धनमा थप योगदान पु¥याउने विश्वास लिएका छौँ ।”