पर्सा ५ असार – मुलुकमाँ भएको लकडाउनको अवधिमा एता पर्सा जिल्लामा आत्महत्याका घटनामा वृद्धि भएको छ। चालू आवको साउनमा १७, वैशाखमा ११ वटा र जेठमा १८ वटासहित ११ महीनामा ८७ वटा आत्महत्याका घटना भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। बाँकी ८ महीनामा सरदर २ देखि ९ वटा मात्र आत्महत्याका घटना भएको देखिन्छ।
लकडाउनको समयमा विविध कारणले मानसिक तनाव बढेर आत्महत्याका घटना बढेको हुन सक्ने प्रहरी अनुसन्धानले जनाएको छ।लकडाउनमा रोजगार गुम्नु, आर्थिक भार बढ्नु, घरपरिवारमा कलह, एकापसमा मतभिन्नता बढ्नु जस्ता कारणले आत्महत्याका घटना बढेको देखिएको हो।
गत आव २०७५/०७६ को साउनमा ९, भदौमा ६, असोजमा ५, कात्तिकमा ३, मङ्सिर ६, पुसमा ४, माघमा १, फागुनमा १४, चैतमा २, वैशाखमा ५, जेठमा १५, असारमा ७ गरी कुल ७७ वटा आत्महत्याका घटना भएका थिए। चालू आवको एघार महीनाको तथ्याङ्क हेर्ने हो भने गत वर्षभन्दा दशवटा बढी आत्महत्याका घटना भएको देखिन्छ। त्यसैगरी, आव २०७४/०७५ मा कुल ६८ वटा र आव २०७३/०७४ मा ७१ वटा आत्महत्याका घटना भएका थिए।
अन्तिम अपडेट २०७७ साल /असाढ़ ५ गते –शुक्रबार