धनुषाको मिथिला नगरपालिकाले अनुदानमा कृषि यन्त्र

५ years अगाडी teraibulletin

धनुषाको मिथिला नगरपालिकाले अनुदानमा कृषि यन्त्र

तराइ खबर समाचारदाता- ढल्केवर, धनुषाको मिथिला नगरपालिकाले ५० प्रतिशत अनुदानमा साना कृषि यन्त्र ‘उडर’ वितरण गरेको छ ।

मिथिला नगरपालिकाको कृषि विकास शाखा कार्यालयमार्फत नगरभित्रका २८ जना कृषकलाई ५० प्रतिशत अनुदानमा ‘उडर’ (खेत गोडमेल गर्ने मेसिन) वितरण गरेको हो । प्रदेश नं २ नेकपाका संसदिय दलका नेता सत्यनारायण मण्डलको प्रमुख आतिथ्यमा उक्त मेसिन वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी मण्डलले कृषि क्षेत्रलाई आधुनिकिरण गर्ने नेपाल सरकारको नीतिलाई अबलम्वन गरेर यस नगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण कार्य निकै सराहनीय भएको बताए । उनले यस यन्त्रको प्रयोग गरेर किसानले पनि उपयोगमा ल्याएर यसको फाइदाहरु लिनपर्ने उल्लेख गरे ।

कृषि उत्पादनमा बृद्धि ल्याउन अनुदानमा कृषि यन्त्र उपलब्ध गराएको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले बताए । कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव भइरहेको र अहिलेको अवस्थामा कृषि यन्त्रको प्रयोग गरेर थोरै जनशक्तिबाट बढीभन्दा बढी लाभ लिन सकिने उनको भनाइ थियो । परापूर्वकालदेखि प्रयोग हुँदै आएको कृषि विधिबाट अबको समयमा प्रर्याप्त उपलब्धी लिन नसकिने हुँदा आधुनिक कृषि प्रणालीलाई अपनाउनु पर्नेमा मेयर महतोले जोड दिए ।

पहिलो चरणमा २८ जना कृषकलाई उडर मेसिन उपलब्ध गराएको कृषि विकास शाखाका अधिकृत संजयकुमार महतोले जानकारी दिए । उनले दोस्रो चरणमा पावर टिलर तथा मिनि टिलर उपलब्ध गराउने योजना रहेको बताए ।

पावर टिलर र मिनि टिलर आउँदो ८ गते सोमबार वितरण गर्ने कार्यक्रम रहेको छ भने तेस्रो चरणमा चार सय कृषकलाई स्वीचेवल पावर स्प्रे मेसिन वितरण गर्ने अधिकृत महतोले बताए । स्प्रे मेसिन भने १० र १२ गते वितरण गर्ने योजना रहेको उनले सुनाए ।

यो कृषि उपकरण पनि किसानको ५० प्रतिशत अनुदानमै वितरण गर्न लागिएको अधिकृत महतोले जनाए ।
श्रोत:- समाजिक संजाल

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?