पर्सा ३० भादौ -सानो छ खेत, सानो छ बारी, सानै छ जहान नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।
म आनन्द साह मेरो घर बारा जिल्लाको बारागाढ़ी गाउपालिकाको सुखीपथरामा रहेको छ । म पढ़ाईको सिलसिलामा यता पर्साको बीरगंजमा बस्दै आएको छु । म पनी एउटा किसान कै सन्तान अर्थात छोरा भएकाले यो लकडाउनमा किसानहरुले भोगी रहेका कुरा आज भन्न मन लागेको छ । सरकारले यो महामारिमा र लकडाउनको अवधिमा कृषको कुरा नै सुन्न नचाहेको जस्तो मलाई लाग्यो । किसानले मेहतन गरी माटोमा पसीना बगाई(बगाई उब्जाएको नगदे बालिको रुपमा रहेको बिशेष तरकारी कृषकहरुको हकमा न त उचित बाजारको ब्यवस्था नै गर्न सके न त राहतको ब्यस्था नै गरे ।
किसानहरूको लागी मुलुकमा सरकार नै नरहेको जस्तो आभाष भईरहेको छ । घरमा भएका धान, गहू बेचेर मल खरिद गरी बालीमा लगाई फलाएको तरकारी र मकै त खेतमा नै कुहिएको प्रत्यक्ष देख्दा कस्को मन रुदैन होला ! मकै पाकेपछि घरमा भित्राउने समयमा नै पानीले गर्दा भिजेर कुहियो भने बाँकी बचेको अवशेषमा भने उचित मूल्य नै किसानले पाएनन् ।
छोराछोरीको पढ़ाईको शुल्क तिर्नुपर्ने, फेरी थप अध्ययनको लागि खर्च जोहो गर्नु पर्ने समयमा एका–एक किसानहरूलाइ ठूलो आर्थिक बिपतिबाट जुध्न बाध्यकारी महामारी कोरोनाले बिश्व संगै नेपालमा पनि ताण्डव मचाउन थाल्यो । केन्द्र सरकारको कुरा त परै जाओस आफुहरुले चिने जानेका र घर आँगमै आएका आफ्ना स्थानीय जनप्रतिनिधिले समेत कुनै चासो नै देखाएनन् । तरकारी र मकै खेतीबाट आर्थिक संकट झेलिरहेका किसानहरू जसो–तसो गरी धानखेती गर्ने किसानलाई व्याडमा धानको बिउ राख्ने बेलामा बीउ र मलको अभाव भयो ।
नेपालमा लकडाउन हुनु भन्दा अगडी नै बीऊ भण्डारण गरी राखेका ब्यापारीहरू अझ मुलुकमा आयात निर्यात बन्द भएपछि महँगोमा बेच्ने दाउमा लाग्दा धानको बीऊ छर्ने बेलामा नै किसानलाइ सास्ती भयो । सरकारलाई किसानहरू पटक–पटक गुहारे । तर, कुनै सुनुवाई भएन ।लुकाई छिपाई सीमा पारीबाट ल्याउदा प्रहरीले तस्करीको बहाना बाजी गर्दै कहिले जफत गर्ने त कहिले ती निमुखा किसानलाई टनटलापुर घाममा उभ्याएर दुःख दिने गरेको कुरा विभिन्न संचार माध्यममा समाचार पढ्न र सुन्न तथा हेर्नु पर्दा हाम्रो कृषि प्रधान देश हो भनेर भनिरहनु भित्रै देखि दुःख लागेर आउछ । मनमा प्रश्न उब्जेर आयो ।
खै ! जुन ठाउँमा किसानहरुलाई यती धेरै सास्ती सरकारी निकायबाट नै हुन्छ । अनि कृषि प्रधान मुलुक हो भन्नु कति उचित होला ? यसले कृषि प्रधान देश नेपाल भन्ने वाक्य नेपाल सरकारको कागजमा मात्रै सीमित छ । धान रोपाँइको बेला पनी किसानलाई उस्तै समस्या भोग्नु पर्यो । फेरी यतिखेर मलको हाकाकार मच्चियो ।
यसले किसानलाई झन समस्या माथि समस्या थपियो ।धान बाली लाउने समय हर्किएरपछि खेती गर्दा धानको बालामा बढ़ी दाना नलाग्ने चिन्ताले सताउथ्यो भने अर्काेतीर मल नहाली धान रोपाई गर्दा जरा नै मजबूत नहँुदा फल कहाँबाट लाग्ला भन्ने चिन्ता थियो । कोरोनाको कहरले बिश्व नै आक्रान्त भएको बेला कृषकहरू अत्याधिक मारमा परेका छन् ।
कोरोना संक्रमणबाट जोगिनको लागी सरकारले गत चैत्र ११ गतेदेखि देशभर जारी गरेको बन्दाबन्दी अर्थात लकडाउनमा कृषकले घाम पानीको परवाह नै नगरी नगदे बालीको रूपमा उब्जाएको तरकारी पनि खेतमा नै कुहिएको मध्यतराईका कृषकले दुखेसो पोखेका छन् ।
मुलुकमा भएको लकडाउनको करीब ६ महीना भन्दा बढी हुँदा समेत कृषकको लागी सरकारले कुनै ब्यवस्था नगर्दा किसानहरू अत्याधिक मार्कामा पर्न थालेका छन् । किसानको समस्या प्रति सरकारको ध्यान जाओस् !