पर्सा ३० भादौ –कोरोना संक्रमणबाट पर्सा र रुपन्देहीमा थप २ जनाको मृत्यु भएको छ l पर्साको नारायणी अस्पतालमा उपचार गराईरहेकी बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुमरवाना निवासी ५५ वर्षीय महिलाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरासियाले जानकारी दिनुभयो ।
उच्च रक्तचाप र मधुमेह रोगी महिलालाई स्वास्थ्यमा समस्या आएपछि हिजो बिहान मात्रै उपचारकालागी नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको अवस्थामा उनको गए राति मृत्यु भएको प्रवक्ता डाक्टर चौरसियाले बताउनुभयो ।मृतक महिलाको हिजो जिन एक्सपर्ट प्रविधिबाट कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको प्रवक्ता डाक्टर चौरासियाले बताउनुभयो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।वीरगञ्जमा मृत्यु भएका ६२ जनामध्ये ४१ जना पर्साका छन्, दुई जनाको ठेगाना खुलेको छैन भने बाराका १४, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् ।
यसैबिच लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका—११ की ७२ वर्षीया महिलाको गयराति राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो l डा. गौतमका अनुसार भदौ १० गते अस्पतालमा भर्ना भएकी उनको उपचार ११ गतेदेखि भेन्टिलेटरमा राखेर भइरहेको थियो ।