काठमाडौँ, २ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले धर्ती र मानव जातिको सुरक्षा तथा सुखद भविष्यका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विनाशकारी बम बनाउनुभन्दा हिँड्न नसक्ने व्यक्तिका लागि ‘ह्विल चियर’ बनाउनु महŒवपूर्ण हुन्छ ।
त्यसैले विश्व समुदायलाई के आग्रह गर्न चाहन्छु भने यो विज्ञान र प्रविधिको सदुपयोग गर्ने समय हो, दुरुपयोगको होइन । भयरहित विश्वका लागि विज्ञान र प्रविधिको प्रयोग गरौँ ।”उहाँले मुलुकलाई विज्ञान र प्रविधिको प्रयोगसहित आधुनिकीकरण गर्न लागिएको बताउँदै थप्नुभयो, “डिजिटल नेपाल बनाउने हाम्रो सङ्कल्प छ । ‘पेपरलेस’ बनाउने प्रयास छ ।
अरू क्षेत्रमा पनि प्रविधिको प्रयोग गर्न सचेत छौँ । आगामी दिनमा लगानी अझ बढाउने, आवश्यक संस्था निर्माण गर्ने र ती संस्थालाई समुचित ढङ्गले गतिशील बनाई प्राप्त उपलब्धिबाट देशलाई अगाडि बढाउनेमा दृढ छौँ ।”प्रधानमन्त्री ओलीले राष्ट्रिय विज्ञान दिवसको मूल समारोह समितिद्वारा आयोजित भर्चुअल कार्यक्रममा विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्न लगानी गरिने बताउनुुभयो ।
उहाँले विज्ञान र प्रविधिको विकासका सन्दर्भमा नेपालले विभिन्न केन्द्र तथा विश्वविद्यालयको स्थापना गर्ने कार्य अगाडि बढाएको चर्चा गर्नुभयो । उहाँले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न गठन आदेश जारी भइसकेको र यसका निम्ति कानुनी प्रक्रिया पूरा गरेर अझ गतिशील ढङ्गले अगाडि बढिरहेको उल्लेख गर्नुभयो । यो समाचार आजको गोरखापत्रमा छापिएको छ l