पर्सा ३ असोज – संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएपछि वीरगन्ज कारागारका विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका १५ जना कैदीबन्दी रिहा हुने भएका छन् । सवारी ज्यान मुद्धाका दुई, कर्तव्य ज्यान मुद्धाका तीन, किर्ते मुद्धाका तीन, नकवजनी चोरी मुद्धाका तीन जना रहेको वीरगन्ज कारागारका प्रमुख जेलर श्रवण पोखरेलले बताउनुभयो ।
यस्तै वन पैदावार मुद्धाका एक, सवारी अंगभंग मुद्धाका एक, डाँका चोरी मुद्धाका एक, सरकारी छाप दस्तखत किर्ते मुद्धाका एक, कर्तव्य ज्यान मुद्धाका एक महिला रहेको उनले बताउनु भएको छ । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका देशभरी दुई सय ८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्वाहाम्फेसहित दुई सय ८९ जनाले माफी पाएका हुन् ।संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा)नियमावली, २०७६ को व्यवस्था अनुसार कैदीबन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ ।