पर्सा lप्रदेश २ मा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामै ५ जनाको ज्यान गएको छ। योसँगै यस प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२१ पुगेको छ। प्रदेश २ का सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा बारा र रौतहटका एकरएक पुरुष र पर्साका दुई पुरुषको कोरोनाबाट ज्यान गएको जनाएको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषाका ७६ वर्षीय पुरुषको पनि पछिल्लो २४ घण्टामै कोरोनाबाट ज्यान गएको पुष्टि भएको छ।
यसले प्रदेश २ सरकार र संघीय सरकारबीच तालमेल नमिलेको देखिन्छ। सामाजिक विकास मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाका अनुसार बाराको कलैया उपमहानगर १३ बलिरामपुरका ६५ वर्षीय पुरुष, रौतहट गौर नपा १ का ६१ वर्षीय पुरुष, पर्साको वीरगन्ज नपा ४ का ७८ वर्षीय पुरुष र वीरगन्ज नपा ६ का ८८ वर्षीय पुरुषको ज्यान गएको छ।
हालसम्म सबभन्दा बढी पर्सामा कोरोनाले ४२ जनाको ज्यान लिएको छ। यस्तै धनुषामा १६, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, सर्लाहीमा ५, रौतहटमा ६ र बारामा १८ जनाको ज्यान पनि कोरोनाकै कारण गएको छ। ज्यान गुमाउनेमा एक भारतीय नागरिक पनि छन्। यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा १२ जना महिलासहित ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सिरहामा १८ जना, रौतहटमा २६ जना, सर्लाहीमा ८ जना, पर्सामा १२ जना र सप्तरीमा १८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९४६ पुगेको छ। जसमध्ये ७ हजार ४४ जना कोरोनामुक्त भइसकेको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ।