रौतहट १० असोज – रौतहटको देबाही–गोनाही नगरपालिका–५ टिकुलियामा शुक्रबार बेलुकी एक दम्पतीमाथि आक्रमण हुँदा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते छन् । स्थानीय जगरनिया देवीको हत्या भएको हो । हिजो बेलुकी १० बजेतिर खाना खाएर गफ गरिरहेका ४५ वर्षीय महेश तिवारी र पत्नी जगरनियादेवीलाई छिमेकी सोनियालाल मुखिया र उनका छोरा प्रदीप मुखियाले धारिलो हतियारले प्रहार गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उनीहरूबीच पुरानो रिसइबी थियो ।
घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सोनियालाल र प्रदीप भने फरार छन् ।पतिपत्नी दुवैको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका लागि वीरगन्ज लगिएकामा पत्नीको मृत्यु भएको इलाका प्रहरी देवाहीका प्रहरी निरीक्षक मेदानी साहले बताउनु भयो । उहाका अनुसार महेशको गम्भीर अवस्थामा आईसीयूमा राखेर उपचार भइरहेको छ । मुखिया बाबुछोराको खोजी भइरहेको प्रहरीले जनाएको छ l