पर्सा १३ असोज –वीरगञ्जस्थति नारायणी अस्पतालमा गएराति गरिएको पिसिआर परिक्षणमा एक जना बैंकरसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार गएरति १ सय ९२ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साका २४ जना र बाराका एक जनागरी दुई महिलासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।पर्सामा संक्रमण पुष्टि भएकामध्ये एक जना एभरेष्ट बैंकमा कार्यरत ३५ वर्षीय कर्मचारीपनि रहेका छन् । त्यसैगरी थपिएका अन्य संक्रमितहरुमध्ये अधिकतम वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा रहेका छन् ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का आठ जना, वडा नम्बर २१ का पाँच जना, वडा नम्बर २९ का दुई जना र वडा नम्बर १५ र १६ का एक/एक जनागरी कुल १७ जना संक्रमित थपिएका छन् ।त्यसैगरी पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ का पाँच जना र सुवर्णपुर् वडा नम्बर ५ का पनि एक जना संक्रमित भएको डाक्टर चौरसियाले जनाए ।
यसै विच कोरोना संक्रमणवाट थप ३ जनाको मृत्यु भएको छ । बाँकेमा संक्रमणबाट गयराति दुई जनाको मृत्यु भएको छ । सोमबारराति उपचारका क्रममा दुई जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभएको छ ।उपचारकै क्रममा कोहलपुर नगरपालिका १० का ५३ वर्षका पुरुष र नेपालगंन्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी भएको बताईएको छ ।
उता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुुभएको छ ।ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए ।ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।