सिरहा १९ असोज –सिराहामा बलात्कारको घटना मिलापत्र गराउने ८ जना पक्राउ परेका छन् । सिरहाको विष्णुपुर गाउँपालिका १ का २० वर्षीय मुकेश कुमार यादवले स्थानीय १६ वर्षीय किशोरीलाई असोज १२ गते बलात्कार गरेका थिए l उक्त घटनामा स्थानीयले मुकेशलाई ५ लाख रुपैयाँ तिराउने कागजात गराएर गाउँमै मिलापत्र गराएका थिए ।
उनीहरुले अभियुक्तका आफन्त सिंहेश्वर साह र शत्रुधन साहसँग ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर जगवीर यादवको जिम्मामा मिलापत्र गराइएको खुलेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा मुख्य अभियुक्त मुकेशसहित मिलापत्र गराउने ८ जनालाई पक्राउ गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताउनु भयो ।
बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गर्न नपाइने कानुनी व्यवस्था छ । पक्राउ पर्नेमा ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरबिन्दकुमार साह, ४५ वर्षीय सत्रुधन साह ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय रामउदगार यादव, ६१ वर्षीय जगवीर यादव, ४८ वर्षीय राजकुमार यादव, ३५ वर्षीय श्यामसुन्दर यादव रहेका छन्। उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।