मधेश प्रदेशमा सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तरप्रति व्यापक गुनासो उठिरहेका बेला प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिँहले विद्यालय अनुगमन सुरु गरेका छन्। मंगलबार बिहान धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालयको स्थलगत निरीक्षण गर्दै उनले शिक्षा क्षेत्रमा व्याप्त बेथिति र विसङ्गतिहरु उजागर गरे।
मुख्यमन्त्री सिँहले हँसपुर नगरपालिका–२ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडाको अनुगमनका क्रममा कतिपय विद्यार्थी निजी विद्यालयमा अध्ययनरत हुँदा हुँदै पनि सरकारी विद्यालयमा नामाङ्कन गरिएको पाइएको बताए। यस्तो अनियमितताका आधारमा छात्रवृत्ति तथा खाजा जस्ता सुविधा लिइएको खुलेको छ।
सरकारले विद्यार्थी संख्याका आधारमा सुविधा वितरण गर्ने भएकाले नाम मात्रका विद्यार्थी देखाएर वास्तविक संख्याभन्दा बढी देखाउने प्रवृत्तिले धेरै सामुदायिक विद्यालयमा समस्या सिर्जना गरेको मुख्यमन्त्रीको भनाइ थियो।
विद्यालय अनुगमनपछि मुख्यमन्त्री सिँहले शिक्षक, विद्यालय व्यवस्थापन समिति, पालिकाका पदाधिकारी तथा अभिभावकहरूसँग छुट्टाछुट्टै छलफल गर्दै समस्याको समाधानमा सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे। उनले शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।
“विद्यार्थीलाई नियमित गृहकार्य दिनुपर्छ, शिक्षकहरूले पनि आफ्नो विषयमा तयारीसाथ कक्षा संचालन गर्नुपर्छ,” उनले भने। साथै उनले विद्यालयको भौतिक संरचना सबल भए पनि शिक्षाको गुणस्तर घटिरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने, “पहिले भवन थिएन, तर पढाइ राम्रो थियो; अहिले राम्रो भवन छ, तर पढाइको स्तर घटेको छ — यसमा गम्भीर सोच आवश्यक छ।”
मुख्यमन्त्रीले नक्कली विद्यार्थी नामाङ्कन तथा स्रोतको दुरुपयोग गम्भीर अपराध भएको उल्लेख गर्दै यसमा संलग्नलाई कारबाहीको चेतावनी दिए। उनले प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई तत्काल सम्बन्धित निकायमा पत्राचार गर्न निर्देशन पनि दिए।
त्यसै क्रममा उनले हँसपुर–८ स्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको पनि निरीक्षण गरे। सो विद्यालयमा अत्यधिक विद्यार्थी संख्या भए पनि शौचालयजस्ता आधारभूत संरचना नहुनु दुःखद रहेको भन्दै नगरपालिकाकी उपप्रमुख दुर्गीदेवी मण्डलको ध्यानाकर्षण गराए। उपप्रमुख मण्डलले आवश्यक बजेट निकासा भइसकेको र चालु आर्थिक वर्षमै शौचालय निर्माण सम्पन्न हुने जानकारी दिइन्।
शिक्षाविद् गुरु सुवेदीले नक्कली विद्यार्थी विवरण सरकारी प्रणालीमा राखी विभिन्न शीर्षकमा रकम निकासा गर्नु भ्रष्टाचार भएको टिप्पणी गर्दै यसमा संलग्न शिक्षक तथा कर्मचारीलाई कारबाहीको माग गरे।
उल्लेखनीय छ, प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले एक महिनाअघि मात्रै मधेश प्रदेशका १३६ वटै पालिकामा पत्राचार गर्दै सामुदायिक विद्यालय सुधारका लागि निर्देशन दिएको थियो। मुख्यमन्त्री सिंह यसअघि अस्पताल र होटलहरूको पनि निरीक्षण गरिसकेका छन्। अबको प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनु रहेको उनले बताएका छन्।