५ करोडभन्दा बढी रकम दुरुपयोग प्रकरणमा हुलाक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

२३ सेकेण्डonds अगाडी न्युज डेस्क

५ करोडभन्दा बढी रकम दुरुपयोग प्रकरणमा हुलाक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला हुलाक कार्यालय, बारामा कार्यरत तथा हाल कार्यालय प्रमुख रहेका नायब सुब्बा बलीराम प्रसाद कुर्मीसहित पाँच जना तत्कालीन कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढीको सरकारी रकम दुरुपयोग गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार, अभियुक्तहरूले हुलाक बचत बैंकमार्फत सर्वसाधारणबाट संकलन भएको रकम कुनै आधिकारिक लेखाजोखा नगरी अपचलन गरेका थिए।

बलीराम प्रसाद कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए। अनुसन्धानबाट उनले संकलित रकम कार्यालयको नगदी रजिस्टरमा उल्लेख नगरी केवल लेजर बुक र पासबुकमा विवरण राखी रकम दुरुपयोग गर्दै आएको खुलेको छ।

आरोपपत्रमा कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेमतो गरी संकलित रकम व्यक्तिगत रूपमा बाँडफाँड गरेर प्रयोग गरेको र यसरी कुल पाँच करोड ३५ लाख ६६ हजार २७९ रुपैयाँ ३३ पैसासम्मको सरकारी रकम दुरुपयोग गरेको उल्लेख गरिएको छ।

मुद्दामा अन्य अभियुक्तहरूमा तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साह परेका छन्। ती सबैले कार्यसम्पादनको क्रममा लेखापाल प्रणाली नअपनाई नगदी रजिस्टर तथा केन्द्रीय कार्यालयमा विवरण नपठाई अपचलनमा संलग्न रहेको आरोप छ।

अख्तियारले सबै आरोपितविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा १७ बमोजिम बिगो बराबर कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?