वीरगञ्ज सुख्खा बन्दरगाहमा १८ लाख बराबरको विदेशी रक्सी गायब : भन्सार प्रणालीमा गम्भीर प्रश्न उठ्यो

३ महिना अगाडी न्युज डेस्क

वीरगञ्ज सुख्खा बन्दरगाहमा १८ लाख बराबरको विदेशी रक्सी गायब : भन्सार प्रणालीमा गम्भीर प्रश्न उठ्यो

वीरगञ्ज । नेपाल–भारत सीमास्थित प्रमुख व्यापारिक नाका सिरसिया सुख्खा बन्दरगाहमा करिब १८ लाख रुपैयाँ बराबरको विदेशी रक्सी गायब भएको घटनाले भन्सार प्रणालीमा गम्भीर प्रश्न उठाएको छ।

सर्लाही निवासी व्यवसायी वासुदेव साहले पिके ट्रेडर्स मार्फत अष्ट्रेलियन ब्रान्ड Royal Musksa Moscato नामक विदेशी रक्सी खरिद गर्न भन्सार टेन्डर जितेका थिए। टेन्डरअनुसार १०,४०५ लिटर रक्सी भन्सारमा हुनु पर्ने भए पनि केवल ९,४१८ लिटर मात्र फेला परेको पाइएको छ। करिब ९८७ लिटर रक्सी गायब रहेको साहले जानकारी दिएका छन्, जसको बजार मूल्य करिब १८ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।

साहले सम्पूर्ण भुक्तानी गरेपछि मालसमान बुझ्न भन्सार पुगेका थिए, तर रक्सीको मात्रा कम पाएपछि जब उनले कारण सोधे, भन्सारका कर्मचारीहरूले “जति परिणाम छ, त्यति नै बुझ्नु” भन्दै पन्छिन खोजेको साहको भनाइ छ। अझ अचम्मको कुरा, उनले जवाफ माग्दा केही कर्मचारी बिना जवाफ गाडीमा चढेर स्थलबाट फरार भएका थिए।

घटना गम्भीर भएपछि साहले मिडिया र सरोकारवालाको ध्यानाकर्षण गराउँदै यो पहिलोपटक नभई बारम्बार हुने समस्या भएको दाबी गरेका छन्। उनका अनुसार, सिरसिया सुख्खा बन्दरगाहमा दैनिकजसो अनियमितता, बेथिति र भ्रष्टाचार भइरहेकाले यसलाई सामान्य त्रुटिका रूपमा लिने अवस्था छैन।

यस किसिमको लापरवाही र मिलेमतोमा भएको चोरीले सरकारको राजस्वमा समेत गम्भीर क्षति पु-याएको भन्दै स्थानीय व्यापारी र नागरिक समाजले तत्काल छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

तर हालसम्म भन्सार विभाग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्य सम्बन्धित निकायले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। यसले सार्वजनिक शंकालाई अझ बलियो बनाएको छ।

विश्लेषकहरू भन्छन्, “यस घटनाले नेपालको भन्सार प्रणालीमा कस्तो ढिलासुस्ती, लापरवाही र सम्भावित भ्रष्टाचार मौलाइरहेको छ भन्ने प्रष्ट पार्छ। यदि यस्ता घटना तुरुन्त नियन्त्रण गरिएन भने, यसले देशको आर्थिक ढाँचा र पारदर्शितामा गम्भीर असर पुर्‍याउन सक्छ।”

सम्बन्धित निकायको तत्काल ध्यान, छानबिन र कडाभन्दा कडा कारबाही मात्र यस्ता अनियमितताको अन्त्यको सुरुआत हुनसक्छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?