३ जेठ, जनकपुरधाम ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडप र तोडफोड भएको छ।
पार्कले कक्षा १२ का परीक्षा दिएर फुर्सद भएका विद्यार्थीहरूका लागि विशेष छुटसहितको प्रवेश सुविधा उपलब्ध गराएको थियो। उक्त योजनाअनुसार ठूलो संख्यामा विद्यार्थीहरू एकैपटक प्रवेश गर्दा व्यवस्थापनमा चाप बढेको र त्यही क्रममा नुहाउने पालो तथा सुविधाको विषयलाई लिएर विवाद उत्पन्न भएको हो।
विवाद झडपमा परिणत भएपछि केही विद्यार्थीले ढुङ्गामुढा समेत गरेका थिए। घटनाक्रमले उग्र रूप लिएपछि पार्कका केही संरचनामा तोडफोड भएको बताइएको छ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नु परेको थियो। हाल घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रहरीका अनुसार झडपको कारण र संलग्न पक्षको पहिचानको विषयमा थप अनुसन्धान जारी छ।