इटालियन प्रधानमन्त्री मेलोनीलाई अल्बानियाली समकक्षीको घुँडा टेकेर अभिवादन

१ महिना अगाडी न्युज डेस्क

इटालियन प्रधानमन्त्री मेलोनीलाई अल्बानियाली समकक्षीको घुँडा टेकेर अभिवादन

३ जेठ, काठमाडौं ।
इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी हाल अल्बानियाको औपचारिक भ्रमणमा छिन्। शुक्रबार राजधानी तिरानामा आयोजित युरोपियन पोलिटिकल कम्युनिटी समिटको अवसरमा अल्बानियाका प्रधानमन्त्री एडी रामाले रेड कार्पेटमा घुँडा टेकेर ‘नमस्ते’ शैलीमा मेलोनीको स्वागत गरे।

मुसलधारे वर्षाका बाबजुद रामाले छाता छोड्दै वर्षामै उभिएर मेलोनीलाई सम्मान जनाएका थिए। उनको यस्तो असाधारण स्वागत शैली अहिले अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ।

मेलोनी रेड कार्पेट हुँदै अघि बढिरहेकी थिइन्, जब रामाले एक घुँडा टेकेर हात जोड्दै अभिवादन गरे। त्यसैबेला मुस्काउँदै मेलोनीले भनिन्, “एडी, होइन!” अनि पत्रकारहरूसँग हल्का मजाक गर्दै थपिन्, “उनी (रामाले) यस्तो गर्छन् ताकि मेरो उचाइ बराबर देखियोस्।

रामाको उचाइ ६ फिट ७ इन्च छ भने मेलोनीको उचाइ ५ फिट ३ इन्च मात्रै हो। उनी युरोपका सबैभन्दा होचो नेतृमध्ये एक मानिन्छिन्।

रामाको शैली कि रणनीति?

प्रधानमन्त्री रामाले मेलोनीप्रति सद्भाव देखाउने यो पहिलो घटना भने होइन। यसअघि अबुधाबीमा आयोजित कार्यक्रममा उनले मेलोनीलाई जन्मदिनको अवसरमा घुँडा टेकेर स्कार्फ उपहार दिएका थिए। यस्तै, सन् २०२४ मा अजरबैजानमा भएको एक शिखर सम्मेलनमा पनि उनले सम्मानजनक शैली अपनाएका थिए।

यस्ता गतिविधिले धेरैको ध्यान तानेको छ। इटालीको भू-राजनीतिक पत्रिका Limes का वैज्ञानिक सल्लाहकार जर्मानो डत्तोरीका अनुसार, “रामाले मेलोनीप्रति गहिरो सम्मान र आकर्षण देखाएका छन्।

मेलोनीको प्रभावशीलता यति फैलिएको छ कि प्रविधि व्यवसायी एलन मस्कदेखि बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकसम्मले उनको खुलेर प्रशंसा गरेका छन्।

रणनीतिक सम्बन्ध

इटाली र अल्बानियाबीचको सम्बन्ध पछिल्लो समय थप नजिकिएको देखिन्छ। इटालीले अल्बानियामा आप्रवासी केन्द्र सञ्चालनमा आर्थिक सहयोग गरिरहेको छ, र अल्बानियालाई युरोपेली संघमा समावेश गराउने प्रक्रियामा पनि सहयोग पुर्‍याइरहेको छ।

प्रधानमन्त्री रामाले सन् २०३० भित्र अल्बानियालाई युरोपेली युनियन सदस्य बनाउने लक्ष्य राखेका छन्। यही उद्देश्यले शुक्रबार आयोजित समिटमा उनले युरोपेली नेताहरूको आतिथ्य गरे।

आगामी कूटनीतिक भेटघाट

शुक्रबारको समिटले आइतबार रोममा हुने ऐतिहासिक कार्यक्रमको पूर्वाभ्यासजस्तै वातावरण सिर्जना गरेको छ। पोप लियो चौधौंको उद्घाटन समारोहमा भाग लिन संसारभरका राजनीतिक र धार्मिक नेताहरू रोम पुग्दैछन्।

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानीज, र बेलायती राजपरिवारका सदस्य प्रिन्स एडवर्ड सहभागी हुनेछन्।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?