४ जेठ, काठमाडौं – उपेश नेपालीको जीवन सधैं सङ्घर्षमै बित्यो। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानका उनी परिवार पाल्न मजदुरी गर्न धुलिखेल पुगेका थिए। तर, मजदुरीकै क्रममा उनको ज्यान गएको छ।
शनिबार बिहान धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयअगाडिको विद्युत पोलमा काम गर्ने क्रममा करेन्ट लागेर उपेशको मृत्यु भएको हो।
जेठ १ गते मात्रै हावाहुरीले उनकाे घरकाे छानाे उडाएकाे थियाे। परिवारलाई अप्ठेरोमा पारेको उक्त घटनाको पीडा कम हुनु त कता हो कता, त्यसको केही दिनमै उपेशको मृत्युले परियार परिवारमा अर्को बज्रपात झरेको छ।
उपेशको घरमा वृद्ध बाबुआमा, पत्नी र दुई सन्तान छन्। छानो उडेको घरमा अहिले बास बस्ने अवस्था छैन। गाउँलेहरू चन्दा संकलन गरेर छानो हाल्ने तयारीमै थिए। तर, त्यसबीचमा उपेशको मृत्युको खबरले गाउँ स्तब्ध बनेको छिमेकी प्रदीप खत्रीले बताए।
ईश्वरपुर–१२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव)का अनुसार, शनिबार बिहान मात्रै उपेशकी पत्नी रश्मिलालाई सहयोगको पहल गर्न निवेदन लिएर आउन भन्नुभएको थियो। “उपेशको परिवारलाई राहतको व्यवस्था गर्न सकिएला कि भन्ने सोच बनाइरहेका थियौं, तर त्यहीबेला यस्तो दुःखद् खबर आयो,” वडाध्यक्ष खत्रीले भने।
उपेशलाई धुलिखेलस्थित विद्युत प्राधिकरणले ठेक्कामा लिएर काममा लगाएको थियो। ११ हजार भोल्ट क्षमताको हाइटेन्सन लाइनमा पोल चढेर काम गर्ने क्रममा अचानक करेन्ट लागेको बताइएको छ। विद्युत प्राधिकरणले सूचना नदिई लाइन चलाएको आरोप मृतकका परिवारले लगाएका छन्।
धुलिखेलमा उपेशको शव पोष्टमार्टमका लागि पठाइएको छ। श्रीमती रश्मिला र उनका आफन्त हाल धुलिखेलमै छन्। जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरका अनुसार घटनाको अनुसन्धान जारी छ।
(छानो उडाएको तस्बिर: वडाध्यक्ष देविबहादुर खत्री ‘शिव’)